युवक र दीपशीखालाई ग्रीन रन उपाधि

खजुरा पालिकाको सीतापुरमा भएको ५ किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तेस्रो भए ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Green run title for youth and Deepshikha

नेपालगन्ज — जलवायु परिवर्तनबारे स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले मंगलबार आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशिखा शाहीले जितेका छन् ।

नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि सुरु गौघाट ग्रीन रनमा जुम्लाका युवकराज र बाँके कोहलपुरकी दीपशिखा च्याम्पियन भए ।

खजुरा पालिकाको सीतापुरमा भएको ५ किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तेस्रो भए ।

खुलातर्फ छात्रा २.५ किममिमा कोहलपुरकी दीपशीखा विजेता हुँदा कोहलपुरकी स्वस्तिका शाही दोस्रो र बर्दियाकी राधा सुनार तेस्रो भए ।

खजुरापालिका स्तरीय ५ किमि छात्रतर्फ ज्ञानोदय उच्च माविका धनीराम खटिक, जनता उमाविका निकेश खत्री र अमरमाविका युसुफ बिक तथा छात्रा २.५ किमिमा अमर माविकी विनिशा एलजीे, योगिनी माविकी प्रशंसा बीसी र अमर माविकी विनिता पुलामी शीर्ष तीन स्थानमा विजयी भए ।

विजेता खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरन गौतम, मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानलगायतले पुरस्कृत गरे ।

नेपालगन्ज म्याराथनका सद्भावना दूत मिस नेपाल श्रृच्छाले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने धारणा राख्दै सबै मिलेर प्रकृति जोगाउन सकेमात्र मानव अस्तित्व जोगिने भनाइ राखिन् ।

सोमबारमात्र श्रृच्छा र कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्याका जोनलाई नेपालगन्ज म्याराथनको सद्भावना दूत नियुक्त गरिएको थियो । नेपालगन्ज म्याराथनको ११ औं संस्करण भने मंसिर ६ मा हुनेछ । 

कान्तिपुर

Link copied successfully