करातेका चार खेलाडीले विश्व च्याम्पियनसिप छनोट खेल्ने

फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ सम्म हुनेछ । त्यसका लागि ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जानेछ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Four karate athletes will compete in the World Championship qualifiers

What you should know

काठमाडौँ — एरिका गुरुङसहित नेपालका चार खेलाडीले विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ सम्म हुनेछ । त्यसका लागि ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जानेछ ।

एक पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । स्वनिम मानन्धरले पुरुष एकल कातामा भाग लिने छन् । महिला ६८ केजीमाथि एरिका, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

स्वनिमको स्पर्धामा ४९, एरिकाको स्पर्धामा ३४, वर्षाको स्पर्धामा ३८ र सविनाको स्पर्धामा ४६ जना प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने २७ औं विश्व कराते च्याम्पियनसिपलाई छनोट हुनेछ । छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउनेछन् । बाँकी २ खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् । विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडी सहभागी हुनेछन् ।

काताकी सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसकेकी छन् । उनले महिला एकल कातामा खेल्ने छिन् ।

टोली प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परीक्षामा भाग लिन अमिर राना पनि टोलीसँगै जाने छन् । उनले टोली व्यवस्थापकको भूमिका निर्वाह गर्ने कराते महासंघले जनाएको । टोलीका लागि सुशान्त अधिकारीले ट्र्याकसुट प्रायोजन गरेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले मंगलबार बिदाइ गरे । सदस्य–सचिव घिसिङले इतिहास रच्ने सुनौलो अवसर भएकाले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न सुझाए ।

कान्तिपुर

Link copied successfully