मंसिर १ गते देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण अगाडि बोल्ट्सले चन्द्रपाललाई प्रशिक्षणको जिम्मा दिएको हो ।
What you should know
काठमाडौँ — नेपाल क्रिकेट लिग (एनपीएपल) को च्याम्पियन टोली जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । मंसिर १ गते देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण अगाडि बोल्ट्सले चन्द्रपाललाई प्रशिक्षणको जिम्मा दिएको हो ।
गत वर्ष पहिलो सिजनमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले जनकपुर बोल्ट्सलाई विजेता बनाएका थिए । बोल्ट्सले सोमबार विज्ञप्तीमार्फत दासानायकेलाई धन्यबाद दिँदै बिदाई गरेको छ । दासानायके हाल अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षकमा छन् ।
चन्द्रपालको नियुक्तिले एनपीएपलमा आफूले बनाएको लिगेसीलाई निरन्तरता दिने अपेक्षा बोल्ट्स परिवारले लिएको छ । ५१ वर्षे चन्द्रपाल आईसीसी हल अफ फेममा समावेश भइसकेका खेलाडी हुन् । जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको प्रवन्ध निर्देशक निरोज खतिवडाले जनाएका छन् ।
‘हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौं । उनको उपस्थितिले हाम्रो प्रशिक्षक टोलीलाई स्थायित्व दिनुका साथै स्वदेशी जनशक्तिलाई सिक्न र बढ्न प्रेरित गर्नेछ । खेलका महान् दिग्गजका रूपमा उहाँले नयाँ विचार, रणनीति र दृष्टिकोण ल्याई बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ,’ बोल्ट्सको विज्ञप्तीमा खतिवडाले भनेका छन् ।
चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाए । उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ । उनले खेलाडीको रुपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताए ।
२०२२ मा चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बने । सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए । मंसिर १ गतेदेखि सुरु हुने एनपीएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रुपमा चन्द्रपालको प्रशिक्षणमा कीर्तिपुर मैदानमा उत्रने छ ।
