ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रनमात्र बनाउन सकेको थियो ।
What you should know
काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आइतबार यूएईमाथि १ रनको सनसनीपूर्ण विजय हात पारेको छ । दाबेदार मानिएको यूएईमाथिको यस विजयपछि नेपाल ट्वान्टी–२० विश्वकपको नजिक पुगेको छ ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रनमात्र बनाउन सकेको थियो ।
यूएईलाई अन्तिम ओभरमा विजयका लागि १० रन आवश्यक भएको समयमा दीपेन्द्रसिंह ऐरीले ८ रनमात्र दिएका थिए भने नेपालले सोक्रममा ३ विकेट लिँदै नाटकीय विजय हात पारेको थियो । जसका कारण यूएई ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।
दीपेन्द्रले अन्तिम ओभरको पहिलो दुई बलमा १ रनमात्र दिएका थिए । तर तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे । त्यसपछि भने नेपालले लगातार तीन विकेट लिएको थियो । चौथो बलमा दीपेन्द्रले परासरलाई बाउन्ड्री लाइनमा क्याच गराएका थिए । पाँचौं बलमा सन्दीप जोराले हैदर अलीलाई रनआउट गरे । छैटौं तथा अन्तिम बलमा यूएईलाई विजयका लागि ३ रन चाहिन्थ्यो । तर जुनाइद सिद्धिकी २ रन लिनेक्रममा रोहित पौडेलको थ्रोमा रनआउट भएपछि नेपाल विजय भएको हो ।
सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ ।
नेपालले सोमबार कतारसँग खेल्ने छ र त्यसमा विजय हात पारे फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान लगभग निश्चित हुनेछ ।
