रुपन्देहीको खस्यौलीले आयोजक एलजी एसोसिएसन रामपुर पाल्पालाई २–० ले पछि पारेको हो ।
What you should know
पाल्पा — पाल्पाको रामपुरमा आयोजना गरेको प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब रुपन्देहीले हात पारेको छ । रमपुर नगरपालिका–५, मटेरीस्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीको खस्यौलीले आयोजक एलजी एसोसिएसन रामपुर पाल्पालाई २–० ले पछि पारेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थप समयमासमेत गोल नभएपछि टाईब्रेकरको सहारा लिनु परेको थियो । टाइब्रेकरमा खस्यौली विजयी भएको हो ।
खस्यौलीले उपाधिसहित नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता एलजी एसोसिएसन रामपुर पाल्पाले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । खस्यौलीका नवीन मसराङ्गी फाइनल खेलको प्लेयर अफ द म्याच बने । मसराङ्गी नै उत्कृष्ट गोलरक्षक समेत भए ।
उत्कृष्ट डिफेन्डर एलजीका अरविन कुमार धामी बने । उत्कृष्ट मिडफिल्डर खस्यौलीका सरोज दर्लामी भए । उत्कृष्ट फरवार्ड एलजीका सन्तोष गोङबा बनेका छन् भने सर्वाधिक गोलकर्ताको पुरस्कार एलजी का सुनिल थापाले हात पारेका छन् ।
प्रतियोगिताको फेयर प्ले टिम देवदह ब्वाइज, रुपन्देही बनेको छ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक एलजीकै थापा घोषित भएका छन् । विजेता खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा लगायतले पुरस्कृत गरेका थिए ।
सेमिफाइनलमा पराजित देवदह ब्वाइज र वालिङ युनाइटेडले २५/२५ हजार रुपियाा प्राप्त गरेको थियो । प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पुरस्कार वितरण गर्दै खेल क्षेत्रलाई अघि बढाउन सबै जुट्नु आवश्यक रहेको बताए ।
रामपुर नगरपालिकाले खेल पूर्वाधार निर्माणका लागि नगरपालिकाले कार्य अघि बढाएको उनले बताए । एलजी एसोसियसन रामपुरका अध्यक्ष सुदन पोखरेलले खेलकुदमा युवा पुस्तालाई अगाडि बढाउन प्रतियोगिता आयोजना गरेको बताए । असोज १८ देखि सुरु भएको प्रतियोगितामा १५ टिम विभिन्न जिल्लाकासहित १८ समूहले सहभागिता जनाएको युथ युनियन मटेरीका अध्यक्ष कमल रानाले बताए ।
