३२ वर्षे जर्ज मुन्सीले यसअघि अन्य ग्लोबल लिग खेल्दै आएका छन् । उनीसँग बंगलादेश प्रिमियर लिग, यूएईको आईएल टी–२० र इंग्ल्यान्डको भाइटालिटी ब्लास्ट खेलेको अनुभव छ ।
काठमाडौँ — विराटनगर किंग्सले आउँदो सिजनको नेपाल प्रिमियर लिगका लागि स्कटल्यान्डका ओपनर जर्ज मुन्सीलाई आबद्ध गरेको छ । किंग्सले शनिबार सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेको हो । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेबाट सुरु हुँदै छ ।
एनपीएलमा एउटा टोलीमा ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । त्यसमध्येका चार खेलाडीले प्लेयिङमा खेल्न पाउनेछन् । ३२ वर्षे मुन्सीले यसअघि अन्य ग्लोबल लिग खेल्दै आएका छन् । उनीसँग बंगलादेश प्रिमियर लिग, यूएईको आईएल टी–२० र इंग्ल्यान्डको भाइटालिटी ब्लास्ट खेलेको अनुभव छ ।
मुन्सीले स्कटल्यान्डबाट ८१ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ हजार ३ सय २ रन बनाएका छन् । उनको स्ट्राइक रेट १४४ र औसत १३१ भन्दामाथि रहेको छ । नेपालले जुनमा गरेको स्कटल्यान्ड भ्रमण दौरान मुन्सीले डन्डीमा विश्वकप लिग २ को एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सविरुद्ध १ सय ९१ रनको इनिङ खेलेका थिए । त्यस्तै ग्लास्गोमा नेपालविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ३९ बलमै ७८ रन बनाएका थिए ।
लिग २ का लागि स्कटल्यान्ड २०२३ मा नेपाल भ्रमणमा आउँदा मुन्सीले नामिबियाविरुद्ध अविजित १ सय ३ र नेपालविरुद्धको दुई खेलमा क्रमशः ६५ र ४१ रन बनाएका थिए ।
