राइजिङ स्टार र किंग्स विजयी

राइजिङ स्टारले अल्पाइन स्कुललाई १ सय ५१ रनले र किंग्सलाई ओएसिस ‘बी’ लाई १० विकेटले पराजित गर्‍यो ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

Rising Star and Kings win

What you should know

काठमाडौँ — राइजिङ स्टार र किंग्स क्रिकेट एकेडेमीले शनिबार सुरु राइजिङ स्टार यु–१४ ब्वाइज क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । राइजिङ स्टारले अल्पाइन स्कुललाई १ सय ५१ रनले र किंग्सलाई ओएसिस ‘बी’ लाई १० विकेटले पराजित गर्‍यो ।

सिफल मैदानमा राइजिङ स्टारले पहिलो खेलमा टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । टोलीबाट रायोस खत्रीले ६७ बलमा १२ चौका प्रहार गरी ६९, प्रतीक अग्रवालले ३१ बल खेली ६ चौका र ३ छक्का प्रहार गरी ४४ र रिसभ अमात्यले ४३ बल खेली २ चौका प्रहार गरी २७ रन बनाए । अल्पाइनका प्रदीप बस्नेत, नीरज खतिवडा र असिम खत्रीले १–१ विकेट लिए ।

जबाफमा आएको अल्पाइन १३.३ ओभरमा ५३ रनमा अलआउट भयो । असिम खत्रीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । राइजिङ स्टारका आनन्द अग्रवाल, सत्यम ठाकुर र रिसबले २–२ विकेट लिए । रायोस प्लेयर अफ द म्याचमा चुनिए । 

दोस्रो खेलमा ओएसिस १२ ओभर खेली २९ रनमै अलआउट भएको थियो । अनुराग खतिवडाले ८ र सम्यम आचार्यले ५ रन बनाए । किंग्सका प्लेयर अफ द म्याच एकेन्द्र बुढाले ३ तथा अंशुमन थापामगर र अरुश चालिसेले २–२ विकेट लिए । अंशुमनले १० र सान्तमु बस्नेतले अविजित ९ रन बनाएपछि किंग्सले ९ बलमै लक्ष्य पूरा गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully