अक्टोबर १५ देखि १९ सम्म हुने च्याम्पियनसिपका लागि बक्सरद्वय उमंग खत्री र अजित मगरले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँ — नेपालका दुई बक्सरले अस्ट्रेलियाको ब्रिसबेनमा हुने विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १५ देखि १९ सम्म हुने च्याम्पियनसिपका लागि बक्सरद्वय उमंग खत्री र अजित मगरले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजनविक्रम प्रजापतिले दुवै खेलाडीलाई रूपमा बिदाइ गरे । प्रजापतिले नेपाली बक्सरहरूले दक्षिण एसियाली देशहरूमा मात्र नभई अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा पनि व्यावसायिक बक्सिङ प्रतिस्पर्धा गर्दै आएको जानकारी गराए ।
ललितपुर जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद महर्जनले पनि खेलाडी र प्रशिक्षकलाई खादा लगाएर बिदाइ गरे । ललितपुरका उमंगले ५१ केजी तथा उदयपुरका अजितले ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष ओमनारायण श्रेष्ठ र संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय खेलाडी गोविन्द डंगोललगायतले उनीहरूका लागि आर्थिक सहयोग गरेका थिए । उनीहरूको प्रशिक्षकमा म्याक्स बस्नेत रहनेछन् । अस्ट्रेलियामा रहँदा म्याक्स बक्सिङ प्रमोशनका निर्देशक मुक्ति थापा र अन्तर्राष्ट्रिय संयोजक विपिन कार्कीले बक्सरको आवास र व्यवस्थापनको जिम्मेवारी लिने छन् ।
एनपीबीसीका महासचिव सविन कार्कीले च्याम्पियनसिप सकिएपछि दुवै खेलाडीले अस्ट्रेलियाका विभिन्न क्लबमा दुई महिने विशेष प्रशिक्षण लिने कार्यक्रम रहेको बताए ।
