कराते खेलाडीलाई सम्मान तथा बिदाइ

कराते वान सिरिज ‘ए’ मा स्वर्ण जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Respect and farewell to karate players

काठमाडौँ — नेपाल प्रहरीले शुक्रबार करातेका पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।

विश्व कराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा एरिकाले स्वर्ण पदक जितेकी थिइन्  ।

एरिकाले कुमिते ६८ केजीमाथि तौलमा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् । सेमिफाइनलमा हाकोभालाई ७-० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २-० ले रोकेकी थिइन् ।

कराते वान सिरिज ‘ए’ मा स्वर्ण जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।

यसैगरी विश्व कराते महासंघको क्यालेन्डरअनुसार फ्रान्स कराते महासंघको आयोजनामा असोज ३१ देखि कात्तिक २ सम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा भाग लिने स्वनिम मानन्धर र सविना श्रेष्ठलाई बिदाइ गरिएको छ ।

सविनाले महिला ५५ केजीमुनि र स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने राष्ट्रिय  टिमका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले जानकारी गराए  ।

उनीहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले सम्मान तथा विदाइ गरेका थिए ।

कान्तिपुर

Link copied successfully