नेपालले बुधबार भएको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगै शृंखला कब्जा गरेको हो ।
What you should know
काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेको छ । नेपालले बुधबार भएको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगै शृंखला कब्जा गरेको हो ।
नेपालले अघिल्लो दिन चौथो खेलमा ६ विकेटको विजय हात पार्दै शृंखला २–२ को बराबरीमा ल्याएको थियो । नेपालले सन् २०२३ मा पनि मलेसिया भ्रमणमा खेलिएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले नै जितेको थियो । नेपालले यसअघि सन् २०२२ मा कतारसँगको शृंखला ३–० ले जितेको थियो ।
टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् । उनले ४६ बल खेल्दै ५ चौका प्रहार गरिन् । माहिराहले १८ बल खेल्दै १ चौकासहित १९ र ऐइना हमिजाह हासिमले १९ बलमा २ चौकासहित १५ रन बनाइन् ।
नेपालबाट कविता कुँवरले ३ विकेट लिइन् । उनले तीनै विकेट अन्तिम ओभरमा लिएकी थिइन् । सोक्रममा उनले कुल ४ ओभरमा १६ रन खर्चिन् । राजमती ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ र रचना चौधरीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् । हासिम र दुराइसिंघमले ६ ओभरमा ३८ रन जोड्दै मलेसियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । सातौं ओभरमा रचना चौधरीलाई बोल्ड गरी नेपाललाई पहिलो सफलता दिलाइन् ।
त्यसपछि नेपालले कसिलो बलिङ गरेको थियो । राजमतीले १४ औं ओभरमा नुर इजातुल र मास इलिसालाई लगातार बलमा आउट गरेपछि खेल नेपालले नियन्त्रणमा लिएको थियो । प्लेयर अफ द म्याच राजमतीले १६ औं ओभरमा दुराइसिंघमलाई पनि आउट गरेपछि खेलमा नेपाल हाबी भयो ।
नेपालले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो । उपकप्तान पूजा महतोले सर्वाधिक २४ बलमा १ चौका प्रहार गर्दै २३ रन बनाई आउट भइन् । नेपाललाई विजयनिम्ति २ रन आवश्यक भएको समयमा उनी नुर आल्याको बलमा बोल्ड भइन् । पूर्व कप्तान रुबिना क्षेत्री १५ बलमा १ चौकासहित १५ र कविता जोशी १ रनमा अविजित रहे ।
सम्झना खड्का १० बल खेल्दै १ चौकासहित १३, रुबि पोदार २५ बलमा २ चौकासहित २६, कविता कुँवर १९ बलमा १ चौकासहित १४, इन्दु बर्मा १३ बलमा ८ रन बनाई आउट भए । मलेसियाबाट आल्या, माहिराह र हासिमले १–१ विकेट लिएका थिए ।
ओमान र यूएई विजयी
पहिलो दिनका अन्य खेलमा आयोजक ओमान र दाबेदार यूएई विजयी भएका छन् । ओमानले सामोओलाई ५ विकेट र यूएईले कतारलाई ७ विकेटले हराए । न्युजिल्यान्डका पूर्व कप्तान रस टेलर समावेश सामोओले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९२ रनमात्र बनाउन सक्यो । टेलरले २८ बलमा १ चौकासहित २२ रनमात्र बनाए । फेरेटी सुलुटोले पनि २२ रन बनाए । उनले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । ओमानका साह फैजल, मोहम्मद नदिम र हसनाइन साहले २–२ विकेट लिए ।
जवाफमा ओमानले १७ ओभरमै ९६ रन बनाएको थियो । नदिम २२ बल खेल्दै २ चौकासहित २१ रनमा अविजित रहे । हमाद मिर्जाले २८ बलमा १८ र ओपनर आशिष ओडेडाराले १५ रन बनाए । सामोओका साउमानी टिएइले २ विकेट लिए ।
अर्को खेलमा यूएईलाई १ सय १९ रनको लक्ष्यमा पुग्न हम्मेहम्मे परेको थियो । अलिसन सराफुले ५१ र हर्षित कौशिकले ३७ रनको अविजित इनिङ्स खेलेपछि यूएईले ९ बलअघि लक्ष्य पूरा गरेको थियो । यूएईले ११ ओभरमा ४७ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा यी दुईले टोलीको उद्दार गरेका थिए । सराफुले ४२ बलमा ४ चौका र २ छक्का तथा कौशिकले ३० बलमा ३ छक्का प्रहार गरे ।
यसअघि कतारले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १८ रन बनाएको थियो । ५७ रन बनाउँदा ५ विकेट गुमाएको कतारबाट कप्तान मिर्जा बेगले २९ बलमा १ चौका र २ छक्कासहित ३०, साहजाइब जमिलले १७ बलमा २ छक्कासहित २० र मोहम्मद इक्रामुल्लाहले २१ बलमा २ चौकासहित १७ रन बनाए । यूएईका मोहम्मद रोहिद र जाहिद अलीले २–२ विकेट लिए ।
