ओमानमा बुधबारबाट सुरु प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले कुवेतका विरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४१ रन बनाएको छ ।
काठमाडौँ — कुशल भूर्तेलले अर्धशतक बनाए पनि नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा कुवेतलाई १ सय ४२ रनको मात्र लक्ष्य दिएको छ । ओमानमा बुधबार सुरु प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४१ रन बनाएको हो ।
आसिफ शेख २ रनमात्र जोडी आउट भएपछि मस्कटस्थित अल एमेरट क्रिकेट मैदानमा अर्का ओपनर भूर्तेलले ५६ बल खेली समान ३ चौका र छक्काका साथ ६६ रन बनाए । उनी अन्तिम ओभरको पाँचौं बलमा आउट भए । कप्तान रोहित पौडेल १५ बल खेली ३ चौकासहित १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ रनमा आउट भए ।
दीपेन्द्रसिंह ऐरीले १ छक्कासहित १९ बलमा २० रन बनाए । १९ औं ओभरमा गुलशन झाले लगातार तीन छक्का प्रहार गरेपछि नेपालको स्कोरमा सुधार भएको थियो । गुलशनले केवल ६ बलमा २० रन बनाए । सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे । कुवेतका नवीनराज राजेन्द्रन र अनुदिप चेनथामराले २–२ विकेट लिए ।
नेपाल र कुवेतसहित समूह ‘बी’ मा जापान रहेको छ । समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन् ।
