अक्टोबर ११ देखि १५ सम्म भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा ३–३ पुरुष र महिला खेलाडीले भाग लिने छन् ।
काठमाडौँ — भारतको उडिसामा हुने एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८ औं संस्करणमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अक्टोबर ११ देखि १५ सम्म भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा ३–३ पुरुष र महिला खेलाडीले भाग लिने छन् ।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिंकबञ्जार तथा महिलामा नवीता श्रेष्ठ, वियन्का राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् । टिममा ५ सिंगल खेल हुनेछ ।
टोली प्रमुखमा अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला छन् । प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहने प्रशिक्षक बासुकलाले जनाए ।
नेपालमै गत जुलाईमा विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको टेबलटेनिस संघले जनाएको छ ।
८ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले बुधबार बिदाइ गरे ।
