इन्दुको इनिङ्समा नेपालद्वारा मलेसिया पराजित

यससँगै नेपालले ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला २–२ को बराबरीमा ल्याएको छ ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Malaysia defeated by Nepal in Indu's innings

काठमाडौँ — इन्दु बर्मा र रुविना क्षेत्रीले अनुभवी इनिङ्स खेलेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

यससँगै नेपालले ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला २–२ को बराबरीमा ल्याएको छ ।

पहिला ब्याटिङ गरेको मलेसियाले क्वालालम्पुरमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । इन्दु र रुविनाको इनिङ्सपछि नेपालले १७.३ ओभरमा १ सय १५ रन बनाउँदै खेल जितेको हो । स्कोर बराबरी भएको अवस्थामा इन्दुले विजयी चौका प्रहार गरिन् ।

इन्दु ३९ बलमा ४८ र रुविना २३ बलमा २३ रन बनाई अविजित रहे । कविता कुँवरले २६ बलमा १६ रन बनाएकी थिइन् । रुवि पोदार ५, सम्झना खड्का ११ र पुजा महतो ७ रनमा आउट भएकी थिइन् ।

मलेसियाबाट मास इलिसाले ६३ बलमा अविजित ५६ रन बनाएकी थिइन् । त्यस्तै माहिराहले २१ बलमा १८ र नुर डानियाले १५ बलमा १५ रन बनाइन् । नेपालकी कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पुजा र कविता जोशीले १–१ विकेट लिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully