इन्दु बर्मा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी

७७ खेलमा १ हजार रन पुर्‍याउँदै इन्दु नेपाली महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा पुगेकी छन्।

आश्विन २१, २०८२

विनोद पाण्डे

Indu Barma is the first Nepali woman player to score 1000 runs

काठमाडौँ — नेपालकी कप्तान इन्दु बर्मा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मलेसियासँगको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा मंगलबार १५ रन बनाएसँगै इन्दुले यो कीर्तिमान हासिल गरेकी हुन् ।

इन्दुले ७७औँ खेलमा १ हजार रनको उपलब्धि पूरा गरिन् । उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करियरमा अहिलेसम्म एउटा मात्रै अर्धशतक रहेको छ, जुन उनले सन् २०२१ मा कतारविरुद्ध दोहामा ५५ रन बनाउँदै गरेकी थिइन् । उनले हालसम्म ७३ चौका र ३ छक्का प्रहार गरिसकेकी छन् ।

नेपालका लागि महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा इन्दु अब शीर्ष स्थानमा पुगेकी छन् । यसअघि सीता रानामगरले ६२ खेलमा ९६५ रन र रुविना क्षेत्रीले ७८ खेलमा ९१६ रन बनाइसकेकी छन् । पछिल्ला दुई खेलमा सीता प्लेइङ ११ मा परेकी छैनन् ।

रुविना र सीतापछि इन्दु नेपाली महिला टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले सन् २०११ देखि राष्ट्रिय टोलीमा खेल्दै आएकी हुन् । तर नेपालले सन् २०१९ देखि मात्र महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न थालेको हो, त्यसैले उनको यो उपलब्धि पछिल्ला ६ वर्षको प्रदर्शनमा आधारित हो ।

२०१० मा सिंगापुरमा भएको एसीसी यू–१९ कप इन्दुको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । आजको जितसँगै नेपालले सिरिजमा २-२ को रोमाञ्चक बराबरी गरेको छ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully