आफ्नो उमेर समूहमा प्रथम भएका ६ खेलाडी मे १६ देखि २६ सम्म सोल ओलम्पिक विजेता याङ योङ याको प्रशिक्षण शिविरमा सहभागी हुनेछन्।
काठमाडौँ — विभिन्न तीन उमेर समूहका टेबलटेनिस खेलाडीका ६ खेलाडी दक्षिण कोरियामा हुने वाईटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण सिविरका लागि छनोट भएका छन् ।
नेपाल एपीएम क्लबको आयोजनामा भइरहेको पाँचौं एपीएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ–आफ्नो उमेर समूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ सम्म हुने सिविरका लागि छनोट भएका हुन् ।
यू–१३ सिंगल्सको ब्वाइजमा यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गर्ल्समा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जन तथा यू–१६ सिंगल्सको ब्वाइजमा यलका रिजा शाक्य र गर्ल्समा स्ट्यागकी सुरम्या शाक्य पहिलो भएका थिए । यू–१९ सिंगल्सको ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गर्ल्समा होप्सकै योङगी पौडेलले स्वर्ण जितेका थिए ।
प्रतियोगितामा विभिन्न क्लबका १५० खेलाडी सहभागी थिए । शिविरमा सन् १९८८ सोल ओलम्पिककी स्वर्ण विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।
