प्रतियोगितामा सहभागी हुने टिमलाई बसोबास तथा खानपानको व्यवस्था आयोजकले गरेको छ । प्रतियोगिता सञ्चालनका लागि २५ लाख खर्च हुने अनुमान गरिएको छ ।
What you should know
पाल्पा — प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिता पाल्पाको रामपुरमा आइतबारदेखि सुरु भएको छ । रामपुरको मटेरीमा सुरु प्रतियोगितामा आयोजक लालीगुराँस एसोसिएशन (रातो) ले विजयी भएको छ ।
रामपुरको ठूलोटार खेलमैदानमा भएको खेलमा लालीगुराँस (रातो) ले युथ युनियन, नवलपुरलाई १–० ले पछि पारेको हो । लालीगुराँसका लागि सोजित रूचालले निर्णायक गोल गरे । खेलमा एलजीका प्रनिल हमाल प्लेयर अफ दि म्याच घोषित भएका छन् ।
रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन, आयोजक क्लबका अध्यक्ष मधुसुदन पोखरेलले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रमा रामपुरले पहिचान बनाउने बताए । उनले पोखरेलले नयाँ प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।
यु–१९ ‘लालीगुराँस कप’ सेभेन ‘ए’ साइडको आधारमा खेलाइएको छ । प्रतियोगितामा १८ समूहले भाग लिएका छन् । प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुनेले २ लाख नगद, ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।
प्रतियोगितामा काठमाडौं, पोखरा, बुटवल, चितवन, मकवानपुरसहित विभिन्न जिल्लाका १५ समूहका साथै आयोजक टिममार्फत् रामपुर नगरक्षेत्र भित्रका तीन समूहले भाग लिएको खेल संयोजक आदेश रानाले बताए ।
प्रतियोगितामा उपविजेताले १ लाख रूपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन् । सेमिफाइनल पुग्ने समूहलाई २५ हजार रूपैयाँ नगद साथै ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेन्स, गोलरक्षक, फरवार्ड, मिडफिल्डर, स्थानीय खेलाडी, प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्टलाई नगद, ट्रफी र प्रमाण–पत्रद्वारा सम्मान गरिनेछ । खेलाडीहरूको जन्म मिति २०६३ साल असार ३० गतेसम्म राखिएको छ ।
प्रतियोगितामा सहभागी हुने टिमलाई बसोबास तथा खानपानको व्यवस्था आयोजकले गरेको छ । प्रतियोगिता सञ्चालनका लागि २५ लाख खर्च हुने अनुमान गरिएको छ ।
रामपुरको मटेरी ठूलोटारमा हुने प्रतियोगिताको सहआयोजकमा युथ युनियन मटेरी, प्रायोजकमा रामपुर नगरपालिका र सहयोगीहरूमा लालीगुराँस एसोसियशन नेपाल, एन्फा, मर्दीखोला युनाईटेड र रामपुर जेसिस रहेको युथ युनियन मटेरीका अध्यक्ष कमल रानाले बताए ।
रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले फुटबल प्रतियोगिताले नयाँ खेलाडीलाई प्रोत्साहन गर्नुका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । प्रतियोगिता अन्तर्गत सोमबार चार खेल हुनेछ ।
