पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेकाले तेस्रो संस्करण सफल पार्न द्रुत गतिमा काम भइरहेको क्लब अध्यक्ष रानाले बताए ।
पाल्पा — पाल्पाको रामपुरमा हुने वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप खुला फुटबल प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
ए डिभिजन क्लब हिमालयन शेर्पाले सहभागिता जनाउने आयोजक ज्योतिपुञ्ज युवा क्लब रामपुरका अध्यक्ष सुन्दर रानाले जानकारी गराए ।
उनका अनुसार असोज २६ देखि कात्तिक ३ सम्म हुने प्रतियोगितामा आयोजक ज्योतिपुञ्ज युवा क्लब, तानसेनको न्यु युथ युनियन क्लब, रूपन्देहीको देवदह ब्वाइज, पोखराको एलजी एसोसिएसन, स्याङ्गजाको होराइजन क्लब वालिङ, नवलपुरको भैरव स्पोर्ट्स क्लब, युनाइटेड युथ क्लब र अभिषेक चर्च रजहर, चितवनको सूर्यपुर फुटबल क्लबको सहभागिता हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न मैदान सरसफाइ गरिनुका साथै अस्थायी प्यारापिट निर्माण सुरु गरिएको छ । रामपुरमा रंगशाला निर्माण गर्ने अभियानसहित रामपुर नगरपालिका–७, किसानबारीस्थित मैदानमा प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेकाले तेस्रो संस्करण सफल पार्न द्रुत गतिमा काम भइरहेको क्लब अध्यक्ष रानाले बताए ।
विजेताले ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी जित्नेछन् । क्लबले सेमिफाइनल पराजित टिमलाई २५/२५ हजार प्रदान गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचलाई जनही ८ हजारसहित पुरस्कृत गरिनेछ ।
