प्रतियोगितामा हालसम्मकै सबैभन्दा धेरै टिमहरुको सहभागिता रहेको छ । क्लबका अध्यक्ष गणेश जैसीले पहिलोपटक आयोजना भएको यो प्रतियोगितामा ३३ वटा टिमको सहभागिता रहेको जानकारी दिए ।
जुम्ला — जिल्लाको तातोपानी गाउँपालिका–४ हाँकुमा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । गिडीदह युवा क्लबको आयोजनामा सबैभन्दा ठूलो धनराशीको फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा हालसम्मकै सबैभन्दा धेरै टिमहरुको सहभागिता रहेको छ । क्लबका अध्यक्ष गणेश जैसीले पहिलोपटक आयोजना भएको यो प्रतियोगितामा ३३ वटा टिमको सहभागिता रहेको जानकारी दिए । खेलको पहिलो दिन गिडिदह युवा क्लब (बी) र जुम्ला एफसीबीच खेल भएको थियो । जसमा एफसीले आयोजक गिडीदह (बी) लाई १२–० गोल अन्तरले हरायो ।
जुम्ला एफसीका रुबिन भण्डारीले पहिलो खेलमै ह्याट्रिक गरे । लक्ष्मी भण्डारी, सुरेश नेपाली र अमृत विष्टले समान २/२ गोल गरे । सुनिल थापा मगर, खड्क कट्टेल र शीखर शाहीले एक/एक गोल गरे ।
यस्तो दोस्रो खेल आयोजक गिडिदह (ए) र ब्ल्याक डायमण्ड एफसीबीच भएको थियो । जसमा पेनाल्टी सुट आउटमा ५–४ गोलले एफसीले जित हात पार्यो ।
यो प्रतियोगितामा विजेता टिमले एक लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ । यस अघि जुम्ला सदरमुकाम खलंगामा १४ वर्ष मुनिका बालबालिकालाई केन्द्रित गर्दै जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले गाउँबस्तीका युवाहरुमा फुटबलको आकर्षण बढ्नु सकारात्मक भएको बताए । उनले तिहारलगत्तै जिल्लाका सबै माध्यमिक विद्यालयस्तरमा फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।
