नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा त्यसलाई प्राप्त गर्न सकेन ।
काठमाडौँ — मलेसियाले तेस्रो वुमेन्स इन्टरनेसनल ट्वान्टी-२० मा आइतबार नेपाललाई १३ रनले पराजित गर्दै सिरिजमा फेरि अग्रता लिएको छ । यस जितपछि मलेसिया पाँच खेलको सिरिजमा २–१ ले अगाडि रह्यो ।
क्वालालम्पुरको बायुमास क्रिकेट ग्राउन्डमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । त्यसमा आइना हामिजले शानदार अर्धशतक बनाइन् । उनले ५८ बलमा ६१ रन जोडिन् । यस्तै मास एलसाले पनि ३० रनको योगदान दिइन ।
जवाफमा नेपालले ८ विकेट गुमाउँदै १ सय ७ रन मात्र बनाउन सक्यो । रुबी पोडारले सर्वाधिक ३१ रन बनाइन् । यस्तै इन्दु वर्माले २२ रन थपिन् । नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा त्यसलाई प्राप्त गर्न सकेन । अब सिरिजका बाँकी दुई खेल मंगलबार र बुधबार हुनेछन् ।
