भारतले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै दुई विकेट गुमाएर १ सय २१ रन बनाएको छ ।
काठमाडौँ — भारतले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा वेस्ट इन्डिजविरुद्ध बिहीबार सुरु भएको पहिलो टेस्टको पहिलो दिन खेलमा आफ्नो नियन्त्रणमा लिएको छ । भारतले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै दुई विकेट गुमाएर १ सय २१ रन बनाएको छ ।
उसका लागि केएल राहुल ५३ रन बनाएर नटआउट रहेका छन् । उनलाई शुभमन गिलले १८ रन बनाएर साथ दिरहेका छन् । भारत अब ४१ रनले मात्र पछाडि छ । यसअघि वेस्ट इन्डिजको पहिलो इनिङ्स १ सय ६२ रनमा टुंगेको थियो ।
वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र त्यो ४४.१ ओभर मात्र टिकेको थियो । भारतीय बलर हावी रहेको यस इनिङ्समा पाहुना टिमका लागि जस्टिन ग्रेभेसले सर्वाधिक ३२ रन बनाए ।
यस्तै साई होडले २६ र कप्तान रोस्टन चेजले २४ रन जोडे । भारतीय बलरमध्ये मोहम्मद सिराजले ४० रनमा चार तथा जसप्रित बुमराहले ४२ रनमा तीन विकेट लिए । कुलदीप यादवले पनि दुई विकेट हात पारे ।
