कल्किनले बनाए राष्ट्रिय कीर्तिमान 

भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा भएको ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा नेपालका कल्किन श्रेष्ठले निर्धारित दूरी ९ मिनेट १२.६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे ।

आश्विन १५, २०८२

कान्तिपुर संवाददाता

Culkin set a national record

काठमाडौँ — नेपालका कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रिस्टाइलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा कल्किनले निर्धारित दूरी ९ मिनेट १२.६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे ।

कल्किनले सन् २०१३ मा शिरिष गुरुङले एनएसए कप पौडी प्रतियोगितामा बनाएको १० मिनेट ००.८५ सेकेन्डको कीर्तिमान ताडेका हुन् । यसै स्पर्धामा अथर्व सिंहले पनि ९ मिनेट १६.९१ सेकेन्डको प्रदर्शन गर्दै शिरीषको कीर्तिमानलाई उछिनेका थिए ।

बुधबारै नेपाली खेलाडीले ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा रिलेमा पनि राष्ट्रिय कीर्तिमान बनाए । अभिभ प्रधान, जाडेन श्रेष्ठ, रेवन्तबहादुर श्रेष्ठ र अल्भिन महर्जन सम्मिलित टोलीले ३ मिनेट ४७.७३ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए ।

उनीहरूले सन् २०२४ मा भारतको नयाँ दिल्लीमा भएको विम्स्टेक एक्वेटिक्स च्याम्पियनसिपमा बनेको ३ मिनेट ४८.५७ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

नेपाली खेलाडीले प्रतियोगितामा योसहित जम्मा ४ राष्ट्रिय कीर्तिमान स्थापित गरे ।

यसअघि अथर्वले १ हजार ५ सय मिटर फ्रिस्टाइल १७ मिनेट ४३.५७ सेकेन्ड तथा ४ सय मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले पनि शिरिषकै नाममा रहेको दुवै कीर्तिमान भंग गरेका थिए ।

कान्तिपुर

Link copied successfully