टाइब्रेकरमा ४-३ ले जित ।
तिलोत्तमा — स्वर्गीय उदीयमान खेलाडी अंकित पुनको स्मृतिमा आयोजित ३७ औं झरना रनिङ शिल्ड नकआउट प्रतियोगिताको उपाधि योङ स्टार मडाहाले जितेको छ । सोमबार भएको अन्तिम खेलअन्तर्गत निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुट आउटमा गएको खेलमा योङ स्टारले उपाधि चुमेको हो ।
झरना स्पोर्ट्स क्लबको आयोजनामा उमा आधारभूत विद्यालयको मैदानमा भएको खेलको पहिलो हाफमा कपिलवस्तु-११ का अरुण चौधरीले गोल गरेपछि योङ स्टारका अनुज गैरेले गोल फर्काएर बराबरी बनाएका थिए । त्यसपछि टाइब्रेकरमा पुगेको खेल योङ स्टारले ४-३ ले जितेको हो ।
विजेता योङ स्टारले ३ लाख ४१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कपिलवस्तु-११ ले १ लाख ८६ हजार रुपैयाँमा चित्त बुझाएको हो ।
प्रतियोगितामा जनज्योति क्लबका एरोन थापाले म्यान अफ द टुर्नामेन्ट र बेस्ट स्ट्राइकरको पुरस्कार जिते । त्यस्तै योङ स्टारका टोपबहादुर राना बेस्ट गोलकिपर बने भने सोही क्लबका कोच विजय गुरुङले बेस्ट कोचको पुरस्कार पाए । त्यस्तै कपिलवस्तु-११ का सोविन चौधरी बेस्ट डिफेन्सर बन्न सफल भएको खेल संयोजक विजय पुनले जानकारी दिए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलका माध्यमबाट तिलोत्तमालाई परिचित गराउन झरना स्पोर्ट्स क्लब्ले महत्त्वपूर्ण भूमिका खेलेकामा खुसी व्यक्त गरे । उनले नगरपालिकाको सानका रुपमा रहेको यस रनिङ शिल्ड प्रतियोगितालाई आगामी वर्षदेखि गोल्डकपका रुपमा संचालन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
प्रतियोगिता असोज १ गतेदेखि सुरु भएको थियो ।
