नेपालद्वारा वेस्टइन्डिजलाई १ सय ७४ रनको लक्ष्य

आसिफ शेख र सन्दीप जोराको अर्धशतक मद्दतमा नेपालद्वारा वेस्टइन्डिजलाई विशाल लक्ष्य ।

आश्विन १३, २०८२

कान्तिपुर संवाददाता

West Indies set a target of 174 runs by Nepal

काठमाडौँ — आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा नेपालले सोमबार दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेस्टइन्डिजलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएका हो ।

आसिफ र सन्दीपले चौथो विकेटमा ६६ बलमा १ सय रनको साझेदारी गरेपछि नेपालले वेस्टइन्डिजविरुद्ध राम्रो स्कोर बनाउन सफल भयो । ओपनर कुशल भूर्तेल २ र कप्तान रोहित पौडेल ३ रनमै आउट भए । कुशल मल्ल ९ बलमा ७ रन बनाई नन स्ट्राइक इन्डमा रनआउट भएपछि आसिफ र सन्दीपको जोडी जमेको थियो ।

आसिफले आठौं र सन्दीपले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो चौथो अर्धशतक बनाएका हुन् । सन्दीपले ३९ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । आसिफ ४७ बल खेली ८ चौका र २ छक्का प्रहार गरी ६८ रनमा अविजित रहे ।West Indies set a target of 174 runs by Nepal

गुलशन झा १ छक्का प्रहार गरी ६ रनमा आउट भए । आदिल अलाम समान १ चौका र छक्का प्रहार गरी ११ रनमा आउट भए । नेपालले अन्तिम ५ ओभरमा ६५ रन जोडेको थियो । वेस्टइन्डिजका कप्तान अकेल हुसैनले ४ ओभरमा २१ र कायल मायर्सले २ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए । जेडिह ब्लेड्सका नाममा १ विकेट रह्यो ।

नेपालले शनिबार भएको पहिलो खेलमा दुई पटकको ट्वान्टी–२० विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको थियो, सो क्रममा पहिला ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो ।

नेपालले यो खेल जितेमा ३ खेलको शृंखलामा २–० को अग्रता कायम गर्नेछ । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

कान्तिपुर

Link copied successfully