स्पेनको क्यानफ्रान्कमा सम्पन्न प्रतियोगितामा नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले ८२ किलोमिटर लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् । उनले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
काठमाडौँ — नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले तेस्रो संस्करणको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् ।
स्पेनको क्यानफ्रान्कमा सम्पन्न प्रतियोगितामा सुनमायाले ८२ किलोमिटर लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् । उनले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् । यस इभेन्टमा सुनमायालाई उछिन्दै अमेरिकी धाविका केटी स्चिडेले ९ घन्टा ५७ मिनेट दुरी पूरा गरिन् । इटालीकी फावियो कोन्टी १० घन्टा ३५ मिनेटबाट कांस्य जित्न सफल भइन् ।
विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक विश्व एथलेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्सले सहकार्य गरेका थिए । प्रतियोगितामा ८० देशका १ हजार ७ सय खेलाडी सहभागी थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता रहेको थियो ।
नेपाल एडभेन्चर रनिङ महासंघले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो ।
८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२ औं स्थान र मनकुमार ३६ औं स्थानमा दुरी पार गरेका छन् । क्यानफ्राङ्क–पिरिनोसस्थित ५,४१३ मिटर उचाइमा भएको कठिन दौडमा सुनमायाको उपलब्धिले विश्वमा नेपालको अल्ट्रा दौडको उच्च सम्भावना औंल्याएको छ ।
महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावना उजागर गरेको बताएका छन् ।
नेपाली खेलाडीको सहभागितालाई महासंघले सहजीकरण गरेको थियो । खेलाडीहरूले व्यक्तिगत प्रायोजकको सहयोगबाट तयारी र सहभागिता जनाएका थिए । सुमनलाई अस्ट्रियाको डा. सिग्रिड स्वार्जेनबाकर फाउन्डेसनबाट समर्थन प्राप्त भएको थियो भने सुनमाया र मनकुमार मगरलाई कैलाश फुगा एसिया प्यासिफिक एडभेन्चर एथलिट्स टिम र प्रशिक्षक एन्डी डुबोइसले सहयोग गरेका थिए । साङ्गेले पनि कैलाशलाई प्रायोजक बनाएका थिए ।
यो ऐतिहासिक उपलब्धि हासिल गर्न सुनमायालाई २०२४ सिजनले विशेष भूमिका खेल्यो । स्पेनको ट्रान्सभल्केनिया ८० किलोमिटरमा दोस्रो भएकी थिइन्, जसले उनलाई विश्वको उत्कृष्ट ट्रेल रनरमा स्थापित गर्ने मार्गप्रशस्त गरेको थियो ।
अन्तर्राष्ट्रिय यात्राका लागि नेपालीले पहुँच पाउनु अतुलनीय चुनौती भएको बताउँदै टिम संयोजक प्रीति खत्रीले भनिन्, ‘सुनमायाको नतिजाबाट व्यक्तिगत रूपमा पनि एकदमै गौरवान्वित छु । यो अद्भूत सफलतामा हिस्सेदार बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु । नेपाली टोलीलाई समन्वय गर्न सक्षम भएकोमा खुसी छु, जसले यो विश्वस्तरीय प्रदर्शनबाट नेपालको सान बढेको छ । अन्तर्राष्ट्रिय अल्ट्रा–दौडमा नेपालको उदाउँदो उपस्थितिलाई यसले उजागर गरेको छ ।’
