नेपाल तेक्वान्दो संघको अध्यक्षमा गुरुङ

दीपराज गुरुङ पछिल्लो तीन कार्यकालमा महाचिवको जम्मेवारीमा थिए ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

Gurung as the president of Nepal Taekwondo Association

काठमाडौँ — नेपाल तेक्वान्दो संघको आइतबार चितवनमा भएको पाँचौं केन्द्रीय अधिवेशनले नयाँ अध्यक्षका रूपमा दीपराज गुरुङलाई सर्वसम्मत चयन गरेको छ । उनी पछिल्लो तीन कार्यकालमा महाचिवको जम्मेवारीमा थिए । उनी तेक्वान्दो संघको अध्यक्ष भएको भने यो पहिलो पटक हो ।

‘तेक्वान्दोले पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा जुन सफलता हात पार्न आएको छ, त्यसलाई अझ अगाडि बढाउने योजना रहेको छ,’ गुरुङले अध्यक्ष चुनिएयता प्रतिक्रिया दिएका छन्, ‘संघलाई पनि अझ व्यवस्थिति गर्नेछौं । हाम्रो ध्यान यिनैमा रहनेछ र यसका लागि विभिन्न कार्यक्रम ल्याउनेछौं ।’

नेपाली खेलकुद इतिहासमा तेक्वान्दो अन्तर्राष्ट्रिय मञ्चमा सर्वाधिक सफल खेलमध्ये एक रहेको छ । तर पछिल्ला समय अन्तर्राष्ट्रिय पदक जित्न नसकेको स्थितिमा नयाँ कार्यसमितिलाई पुरानो साख फर्काउने र तेक्वान्दोलाई मूल धारको खेल कायम राख्ने चुनौती हुनेछ ।

Gurung as the president of Nepal Taekwondo Association

अधिवेशनले १९ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । त्यसमध्येबाट अध्यक्ष गुरुङले हेमन्त डाँगीलाई महासचिव चयन गरेका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली र भानबहादुर चन्द तथा कोषाध्यक्षमा कासिम मिया धोबी रहेका छन् । यस्तै कोसिस खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, टीकाप्रसाद लिम्बू, श्रीमान थापा मगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु सिवाकोटी र प्रेमबहादुर भण्डारी सदस्यमा चयन भए ।

अधिवेशनमा सात प्रदेश, ५८ जिल्ला संघ र २३ केन्द्रिय प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि ०७८ मा चयन भएको कार्यसमितिका अध्यक्षमा प्रकाशशमशेर राणा रहेका थिए र उनको कार्यसमितिको कार्यकाल असोज १६ मा सकिनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully