सुदूरपश्चिमका रावतलाई दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि

पोखरामा शनिबार भएको प्रतियोगितामा सुदूरपश्चिमकै करन रावल दोस्रो बने भने कर्णालीका दलबहादुर कुँवर तेस्रो भए ।

आश्विन ११, २०८२

दीपक परियार

The second Pumdi-Bhumdi mountain race title for Rawat from Far West

पोखरा — दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले उपाधि जितेका छन् । उनले ८ किलोमिटर दूरी ३५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै ५० हजार रुपैयाँ प्राप्त गरे ।

पोखरामा शनिबार भएको प्रतियोगितामा सुदूरपश्चिमकै करन रावल दोस्रो बने भने कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले ३६ मिनेट ३३ सेकेन्ड र दलबहादुरले ३७ मिनेट १६ सेकेन्डमा दूरी पार गरेका थिए । उनीहरूले क्रमश: ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

गौतम श्रेष्ठ चौंथो हुँदै ७ हजार, सफल लामा पाँचौं भई ३ हजार रुपैयाँ पाए । छैटौंदेखि दसौंसम्म पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजार रुपैयाँ पाए । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै विजेता भए । भेट्रान्सतर्फ गण्डकीका किशोर थापा पहिलो बने । दुवैले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

वडा २२ स्तरतर्फ कुशल परियार पहिलो र सुज्जल परियार दोस्रो भए । उनीहरूले क्रमश: ४९:१५ र ५१:०३ मिनेटमा दूरी पूरा गरे । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवारले ५३:३९ मिनेटमा दूरी पूरा गरी पहिलो हुँदा बागमतीकी नीतु तामाङले ५७ मिनेट ४६ सेकेन्डमा पार गर्दै दोस्रो भइन् । वडा र महिलातर्फ पहिलो र दोस्रोले जनही १५ हजार र ७ हजार रुपैयाँ जिते । यू–१६ मा प्रकाश थिङ (४२:५८) पहिलो हुँदा तीलबहादुर परियार (३८) दोस्रो भए भने कमल पौडेल (४९:५६) तेस्रो स्थान प्राप्त गर्न सफल भए । उनीहरू सबै गण्डकीका हुन् । पहिलो, दोस्रो र तेस्रोले जनही १५ हजार, ७ हजार र ३ हजार जिते । प्रतियोगितामा ८२ वर्षका पुम्दी–भुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरियो ।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ८ देशका १ सय ६७ धावक सहभागी भएको केन्द्रका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । सहभागीमध्ये नेपालका सातै प्रदेशका धावकसँगै बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडाका नागरिक थिए । दौड विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटको विशाल महादेव मूर्ति परिक्रमा गरी कालाबाङ घरेडीस्थित बुद्धपार्कसम्म भएको थियो ।

समापन समारोहमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा प्रवर्द्धन विशिष्ट सम्मान प्रदान गरिएको थियो । घिमिरेको अनुपस्थितिमा उनका छोरा शक्ति घिमिरेले सम्मान ग्रहण गरेका थिए । 

गत वर्ष यो सम्मान चन्द्रकान्त बराल र कुसान गुरुङलाई दिइएको थियो ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully