पदकधारी खेलाडीलाई बुदोकैदोको सम्मान

सम्मानित हुनेमा अजरबैजानको बाकुमा भएको विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बबिता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा छन् ।

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

Budokaido's honor to medal-winning athletes

काठमाडौँ — नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई शनिबार सम्मान गरेको छ ।

उनीहरूलाई विजयी दशमी, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । सम्मानित हुनेमा अधिकांश फुल कन्ट्याक्ट करातेका खेलाडी छन् ।

सम्मानित हुनेमा अजरबैजानको बाकुमा भएको विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बबिता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा छन् । बविता, रोचक र पूजाले किक बक्सिङ र फुल कन्ट्याक्ट विधामा स्वर्ण, सागरले किक बक्सिङमा स्वर्ण फुल कन्ट्याक्टमा रजत तथा सुदर्शनले किक बक्सिङमा रजत फुल कन्ट्याक्टमा स्वर्ण जितेका थिए ।

सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउत क्षेत्रीलाई पनि सम्मान गरियो । श्रीलंकामा भएको दक्षिण एसियाली फुल कन्ट्याक्ट करातेको खुला तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका सनी सिंह, जापानमा भएको तेजुका कप फुल कन्ट्याक्ट करातेको एकल कातामा कांस्य जितेका दावा शेर्पा र थाइल्यान्डमा भएको १२ औं विश्व स्ट्रेन्ट लिफ्टिङ तथा इन्क्लान बेन्च प्रेसमा ५० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेका केदारमान स्थापित पनि सम्मानित भए ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बुढाथोकीलाई पनि सम्मान गरियो । उनीहरूलाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी र नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनले सम्मान गरे ।

बुदोकैदोका अध्यक्ष महर्जनले तिहारपछि महासंघले आकर्षक पुरस्कार राशिको प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते प्रतियोगिता गर्ने जानकारी गराए ।

महासंघका अध्यक्ष बुढाथोकीले फुल कन्ट्याक्ट करातेलाई राष्ट्रपति रनिङ सिल्डमा समावेश गर्न महासंघले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कान्तिपुर

Link copied successfully