नेपाल–वेस्ट इन्डिज ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला

द्विपक्षीय शृंखलाबाट थप परिष्कृत हुने नेपालको विश्वास

आश्विन १०, २०८२

विनोद पाण्डे

Nepal-West Indies Twenty-20 international series

काठमाडौँ — वेस्ट इन्डिजसँग शारजहाँमा तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेपछि नेपाली क्रिकेटले थप उचाइ लिने विश्वास छ । यसको एउटा कारण वेस्ट इन्डिजसँगको शृंखला नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध खेल्न लागेको पहिलो द्विपक्षीय शृंखला पनि हो ।

सन् २००८ मा पाकिस्तान ‘ए’, २०२२ मा जिम्बावे ‘ए’ र गत वर्ष वेस्ट इन्डिज ‘ए’ ले नेपाल भ्रमण गरेको थियो । तर, वेस्ट इन्डिजसँग शनिबार सुरु हुने तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले पूर्ण राष्ट्रको राष्ट्रिय टोलीविरुद्ध खेल्न लागेको पहिलो हो ।

पाकिस्तान ‘ए’ विरुद्ध ५० ओभरको तीन खेल यसअघि नेपालले खेलेको सबैभन्दा ठूलो शृंखला थियो । पाकिस्तान ‘ए’ टोलीका तत्कालीन खेलाडीमध्ये धेरैले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे । यस शृंखलाले नेपाली टोलीलाई पनि फक्रन ठूलो टेवा पुग्ने विश्वास छ । पाकिस्तान ‘ए’ विरुद्धको अन्तिम खेलमा पहिलो पटक पारस खड्काले नेपाली टोलीको कप्तानी गरेका थिए र त्यसमा नेपाल  िविजयी भएको थियो । 

त्यसपछि पारस रोकिएनन् र नेपाली क्रिकेट पनि अगाडि बढ्दै गयो । जसका कारण नेपाल अहिले टेस्ट मान्यता राष्ट्रविरुद्ध खेल्ने अवस्था पुगेको छ । वेस्ट इन्डिजसँगको यस शृंखलाले नेपाललाई आगामी दिनमा आईसीसीका शीर्ष १२ राष्ट्रविरुद्ध खेल्दा ठूलो जोश प्रदान गर्ने पक्का छ ।

द्विपक्षीय शृंखलाहरूमा नेपाली खेलाडीको प्रदर्शन अझ परिष्कृत भएको छ । तत्काल हेर्ने हो भने वेस्ट इन्डिजसँग खेलेलगत्तै नेपाल ट्वान्टी–२० विश्वकप छनोट खेल्न ओमान लाग्ने छ । त्यसैले पनि शारजहाँको शृंखला नेपाललाई अझ महत्त्वपूर्ण हुनेछ । 

नेपालले एसिया कपमा पाकिस्तान र भारत, गत वर्ष ट्वान्टी–२० विश्वकपमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश तथा त्यसअघि अफगानिस्तान, जिम्बावे, वेस्ट इन्डिज, आयरल्यान्डसँग एसीसी र आईसीसीका प्रतियोगिताहरूमा खेलिसकेको छ । तर, शृंखलाहरूमा लगातार खेल्दा आफ्नो कमीकमजोरी सुधार्दै जाने हुनाले नेपालका लागि वेस्ट इन्डिजसँग यो शृंखला अझ महत्त्वपूर्ण छ । 

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा खेलेका सबै द्विपक्षीय शृंखला विदेशी भूमिमा छ । यसपटक पनि नेपालले वेस्ट इन्डिजसँग यूएईको शारजहाँमा खेल्दै छ । तर नेपाल यस शृंखलाको आयोजक हो । नेपालले यसअघि खेलेका द्विपक्षीय शृंखलाका प्रभाव केही यस्ता छन् :

सोमपालको विश्व कीर्तिमान

सन् २०१४ को ट्वान्टी–२० विश्वकप खेलेसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पायो । तर, ट्वान्टी–२० विश्वकप खेलेको ८ महिनापछि मात्र नेपालले अर्को ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न पाएको थियो । त्यो पनि एसियाली क्रिकेट परिषद् (एसीसी) को व्यवस्थापनपछि । एसीसीले २०१४ को नोभेम्बरमा श्रीलंकामा नेपाल र हङकङबीचको चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला आयोजना गरिदियो । तर नेपालको पहिलो द्विपक्षीय शृंखला वर्षाका कारण पहिलो तीन खेल रद्द हुन पुग्यो । 

चौथो तथा अन्तिम खेलमा इतिहास बन्यो । टस हारेपछि ब्याटिङमा आएको नेपाल २० ओभर खेलेर ७२ रनमा अलआउट भयो । तल्लो क्रममा ब्याटिङ गर्दै सोमपाल कामीले ४० रन बनाए । १० औं नम्बरको ब्याटिङमा यो ट्वान्टी–२० अन्तर्राष्ट्रियकै उच्च स्कोर थियो । उनले ३१ बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरे । सोमपालबाहेक अन्य कुनै नेपाली खेलाडीले बाउन्ड्री प्रहार गर्न सकेनन् । अन्य कुनै खेलाडी ६ रनको स्कोरमा पुग्न सकेनन् । शक्ति गौचनले १९ डट बल फाले पनि हङकङले १ बलअघि लक्ष्य पूरा गरिछाड्यो । 

नेदरल्यान्ड्समा पहिलो जित

सन् २०१५ मा आयरल्यान्ड र उत्तरी आयरल्यान्डमा हुने ट्वान्टी–२० विश्वकप छनोटअघि चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न नेपाली टोली नेदरल्यान्ड्स पुगेको थियो । पहिलो तीन खेलमा खासै चुनौती तेर्स्याउन नसकेको नेपालले चौथो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो । कप्तान पारस खड्काले ४१ बलमा ५४ रनको इनिङ्स खेल्दै नेपाललाई पहिलो जित दिलाए ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पारसको यो पहिलो अर्धशतक थियो । उनी नेपाली खेलाडीको प्लेयर अफ द सिरिजमा चुनिए । यो खेलसँगै नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा प्रवेश गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा प्रवेश पाउन कम्तीमा ८ खेल खेल्नुपर्ने थियो । नेदरल्यान्ड्ससँग चार खेलको शृंखला खेलेपछि नेपालले वरीयताका लागि ८ खेलको मापदण्ड पूरा गरेको थियो । 

पहिलो शृंखला जित

नेपाली टोली समान तीन एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न यूएई गएको थियो । २०१९ मा दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यूएईले नेपाललाई २३ रनले हरायो । यही खेलबाट रोहित पौडेल, सन्दीप जोरा र अविनाश बोहराले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरे ।

नेपालले दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जित्दै शृंखला २–१ ले आफ्नो पक्षमा पार्‍यो । नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो शृंखला जित थियो । आफ्नो ‘डेब्यु’ शृंखलामा ६ विकेट लिँदै अविनाश प्लेयर अफ द सिरिजमा चुनिए ।

विनोदको तीव्र अर्धशतक

२०१९ मा सिंगापुरमा ट्वान्टी–२० विश्वकप एसिया छनोट खेल्न जानुअघि नेपालले मलेसियामा दुई खेलको शृंखला खेल्दै स्वभाविक २–० को नतिजा निकाल्यो । पारसले ५० बलमै अविजित ८६ रन बनाएपछि नेपालले १ सय २९ रनको लक्ष्य ९ बलअघि पूरा गर्‍यो । दोस्रो खेलमा विनोद भण्डारीले २५ बलमै अविजित ५१ रन बनाई नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाए । उनको प्रयासमा नेपालले ६ विकेट गुमाई १ सय ७३ रन जोडेको थियो । जवाफमा मलेसियाले ७ विकेट गुमाई १ सय ६७ रनमात्र बनाउन सक्यो । 

केन्यामा शृंखला जित

सन् १९९६ को एकदिवसीय विश्वकपको सेमिफाइनल पुगेर सनसनी मच्चाएको केन्यामा नेपाल पहिलो पटक ५ खेलको शृंखला खेल्न २०२२ मा पुगेको थियो । तर, केन्या क्रिकेट पतनको समयमा थियो । त्यही पनि नेपाललाई शृंखला जित्न हम्मेहम्मे परेको थियो । मनोज प्रभाकरको पहिलो प्रशिक्षणमा नेपालले शृंखलामा केन्यालाई ३–२ ले पराजित गरेको थियो । कप्तान सन्दीप लामिछाने १२ विकेट लिँदै प्लेयर अफ द सिरिजमा चुनिए ।

अमेरिकामा सन्तोषजनक नतिजा

विश्वकप लिग २ का खेल होस् वा ट्वान्टी–२० विश्वकप, अमेरिकामा खेलिएका खेलहरूमा नेपालको नतिजा सन्तोषजनक थिएन । तर गत वर्ष अक्टोबरमा नेपालले तीन खेलको 

ट्वान्टी–२० शृंखलामा अमेरिकालाई २–० ले हरायो । रोहित पौडेलको ४९ र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले पहिलो खेलमा १७ रनको जित निकाल्यो । दोस्रो खेलमा नेपाल र अमेरिकाले समान १ सय ७० रन बनाएपछि स्कोर ‘टाइ’ भयो र नेपालले सुपर ओभरमा बाजी मारेको हो । शीर्षक्रमका ब्याटरहरूको उच्च प्रदर्शनपछि नेपालले तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully