१३ फरक विधामा हुने म्याराथनमा ४ देखि ७० वर्षमाथि उमेर समूहकाले समेत भाग लिन पाउनेछन् । सन् २००७ देखि काठमाडौं म्याराथन हुँदै आएको छ ।
काठमाडौँ — काठमाडौं म्याराथनको १७ औं संस्करण कात्तिक १५ गते राजधानी काठमाडौंमा हुने भएको छ । आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले प्रतियोगितामा ५ हजारभन्दा बढीको सहभागिता रहने बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
१३ फरक विधामा हुने म्याराथनमा ४ देखि ७० वर्षमाथि उमेर समूहकाले समेत भाग लिन पाउनेछन् । सन् २००७ देखि काठमाडौं म्याराथन हुँदै आएको छ ।
यसपालि करिब २ सय विदेशी खेलाडीको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी गराए । दशरथ रंशगालाबाट सुरु हुने म्याराथन काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनै जिल्ला समेटेर गरी रुट तय गरिएको उनले बताए । खेल, स्वास्थ्य र एकताको पर्वको रूपमा काठमाडौं म्याराथन आयोजना भइरहेको उनको दाबी थियो ।
म्याराथनको टाइटल स्पोन्सरमा सिद्धार्थ बैंक रहेको छ । त्यसका लागि अध्यक्ष श्रेष्ठ र बैंकका सीएमओ सुरेशराज महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सीएमओ महर्जनले काठमाडौं म्याराथनजस्तो प्रतिष्ठित प्रतियोगितामा जोडिएर नेपाली खेलकुदमा थोरै भए पनि सहयोग गर्न पाउनुले संस्था खुसी रहेको बताए ।
नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्माले नेचर, कल्चर र एडभेन्चर नेपालको पयर्टन सम्भावना बोकेको क्षेत्र भएको बताउँदै खेलकुद पनि अहिले त्यसमा जोडिएको सुनाए । नेपाल एथलेटिक्स संघका महासचिव सन्जिव तुलाधरले म्याराथन नेपालको पहिचान बोकेको इभेन्ट भएको बताउँदै काठमाडौं म्याराथन निरन्तर आयोजना हुनु नेपाली एथलेटिक्सका लागि सुखद भएको बताए ।
महिला र पुरुष म्याराथन विजेताले समान एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । हाफ म्याराथन खुलातर्फ महिला र पुरुष विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पाउनेछन् । त्यस्तै १० किमिका विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् । म्याराथनतर्फ ४० वर्षमाथि, ५० वर्षमाथि र ५० वर्षमाथि तथा हाफ म्याराथन ४० वर्षमाथि र ५० वर्षमाथिको विधा छुट्याइएको छ । म्याराथनतर्फ शीर्ष तीन स्थानका विजेताले समान १० हजार पाउने भने हाफ म्याराथनका शीर्ष तीनका विजेताले समान ५ हजार पाउनेछन् । त्यस्तै १० किमि मास्टर्स, ५ किमि खुला, ३ किमि खुला, ३ किमि स्कुलस्तरीय र फेमिली रन इभेन्टहरू पनि रहेका छन् ।
