नेपाललाई हराएर भारत फाइनलमा

यू–१७ साफ च्याम्पिनयसिप २०२५ को सेमिफाइनलमा नेपाल बिहीबार भारतको हातबाट ३–० ले पराजित भएको छ ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

India beat Nepal in the final

काठमाडौँ — सुधारिएको खेल प्रदर्शन गरे पनि यू–१७ साफ च्याम्पिनयसिप २०२५ को सेमिफाइनलमा नेपाल बिहीबार भारतको हातबाट ३–० ले पराजित भएको छ । यससँगै प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ ।

डिफेन्डिङ च्याम्पियन भारत भने फाइनल प्रवेश गर्न सफल रह्यो र अब उपाधिको भिडन्तमा उसले बंगलादेशको सामना गर्नेछ । फाइनल शनिबार हुनेछ । पछिल्लो संस्करणको फाइनलमा पनि यिनै दुई टिम भिडेका थिए ।

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स मैदानमा भएको खेलमा नेपालविरुद्ध भारतका लागि ६१ औं मिनेटमा गुनलेबिया वाङखेराकपामले पहिलो गोल गरे । त्यसपछि अजलान साहले ८० औं मिनेटमा दोस्रो गोल थपे ।

दोस्रो हाफको इन्ज्युरी समयमा डाइमन्ड सिंहले भारतका लागि तेस्रो गोल गरे । नेपालले भारतमाथि दबाबमा सिर्जना गर्न सफल रहे पनि निर्णायक मोड बनाउन भने सकेन । गोलरहित बराबरीमा पहिलो हाफ टुंगेपछि भारतले बाँकी समय रणनीति फेर्दै आक्रामक खेल खेलेको थियो ।

त्यसअगाडि बिहीबार नै भएको पहिलो सेमिफाइनलमा बंलादेशले पाकिस्तानलाई २–० ले पराजित गरेको थियो । बंगलादेशले सुरुआती पाँच मिनेटभित्र दुई गोलको अग्रता लिएको थियो र त्यसलाई अन्त्यसम्म कायम राख्यो ।

बंगलादेशका लागि नजमुल हुडा फयसलले तेस्रो मिनेटमै गोल गरेका थिए । लगत्तै पाँचौं मिनेटमा ओपु रहमान दोस्रो गोल थपे ।

कान्तिपुर

Link copied successfully