लिभरपुलको शतप्रतिशत जित

सन् अस्सीको दशकयता लिभरपुल पहलिो पटक लगातार दोस्रो सिजन लिग जित्ने अभिायानमा छ ।

आश्विन ५, २०८२

एएफपी

100% win for Liverpool

लन्डन — डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो शतप्रतिशत विजय सुरुआतलाई शनिबार पनि कायम राखेको छ । टोलीको यो लगातार पाँचौं जित निकालेको हो । लिभरपुलले एनफिल्डमा भएको मर्सिसाइड डर्बीमा एभरटनलाई २–१ ले हराएको थियो ।

यस जितपछि लिभरपुलको अधिकतम १५ अंक भएको छ । टोली शीर्षस्थानमा छ । एभरटन भने ७ अंकमा सीमित रहेर सातौं स्थानमा रह्यो । सन् अस्सीको दशकयता लिभरपुल पहलिो पटक लगातार दोस्रो सिजन लिग जित्ने अभिायानमा छ ।

लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । रायन ग्राभेनबाखले १० औं मिनेटमा टिमलाई अग्रता दिलाएयता ह्युगो एकिटिकेले २९ औं मिनेटमा दोस्रो गोल थपेका थिए । 

एभरटनका लागि इड्रिस गुयेले ५८ औं मिनेटमा एक गोल फर्काए । यस खेलसँगै एलेक्जान्डर इसाकले लिभरपुलका लागि लिगमा डेब्यु गरेका छन् । उनी कीर्तिमानी रकममा न्युकासल युनाइटेड छाडेर लिभरपुल आएका थिए । उनी सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका हुन् । एभरटनका डेविड मोयसले प्रशिक्षकका रूपमा अहिलेसम्म एनफिल्डमा जित निकाल्न सकेका छैनन् । 

प्रशिक्षकका रूपमा लिभरपुलको घरमा उनको यो २३ औं भ्रमण थियो । उनले म्यानचेस्टर युनाइटेड, सन्डरल्यान्ड र वेस्ट ह्यामका लागि कहिल्यै एनफिल्डमा जित्न सकेका छैनन् । 

सन् १९३३–०३४ यता लिभरपुलले पहिलोपल्ट आफ्नो छिमेकी एभरटनलाई लगातार पाँच खेलमा पनि हराएको छ । एभरटनले लिभरपुललाई एनफिल्डमा अन्तिम पटक हराएको सन् २०२१ मा हो, जतिबेला कोरोना भाइरसको महामारी चलिरहेको थियो ।

एएफपी

Link copied successfully