देशभर विभिन्न स्थानमा भएका ट्रायलमार्फत खेलाडीलाई छनोट गर्ने प्रक्रिया सकिएको छ । काठमाडौंको महालक्ष्मी स्पोर्ट्स हबमा अन्तिम ट्रायल भएको हो ।
काठमाडौँ — डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले नेपालमै पहिलो पटक हुन लागेको टेनिस बल टी–१० क्रिकेट नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) को ‘ट्रायल’ सकिएको छ ।
देशभर विभिन्न स्थानमा भएका ट्रायलमार्फत खेलाडीलाई छनोट गर्ने प्रक्रिया सकिएको छ । काठमाडौंको महालक्ष्मी स्पोर्ट्स हबमा अन्तिम ट्रायल भएको हो । ट्रायलमा खेलाडीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । ट्रायलमा करिब १५ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए । त्यसमध्ये २ सय ५० खेलाडीलाई अक्सनका लागि छनोट गरिने जनाइएको छ ।
यो प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीलाई आफ्नो क्षमता देखाउने महत्त्वपूर्ण प्लेटफर्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सात टिम सहभागी हुनेछ । कुल २५ खेल हुनेछ । लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा हुनेछ । शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकास गर्ने बताए । ‘यो प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर र प्रेरणा दिनुका साथै नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाट विकास गर्ने उद्देश्य राखिएको छ,’ उनले भने ।
हाल प्रतियोगिता केही समयलाई स्थगित भएको छ । सुरुआती मितिअनुसार प्रतियोगिता असोज २१ देखि ३१ सम्म हुने तय थियो । तर, भदौ २३ गतेको जेन–जी आन्दोलन तथा हाल देश शोकमा डुबेको परिस्थिति मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी आयोजकले दिएको छ । प्रतियोगिताको नयाँ मिति छिट्टै नै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
