फ्रेन्चाइज क्रिकेट एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुने तालिका छ । तर पछिल्लो समयमा जेन–जी आन्दोलनका कारण देश विषम परिस्थितिमा पुगेपछि एनपीएलको आयोजना अन्योल बनेको थियो ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तोकिएकै समयमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले बिहीबार एनपीएल तोकिएकै समयमा हुने जानकारी गराएका हुन् ।
फ्रेन्चाइज क्रिकेट एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुने तालिका छ । तर पछिल्लो समयमा जेन–जी आन्दोलनका कारण देश विषम परिस्थितिमा पुगेपछि एनपीएलको आयोजना अन्योल बनेको थियो । क्यानले घोषित एनपीएलको ट्रफी टुर पनि त्यसपछि स्थगित गरेको थियो ।
वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्न यूएई जान लागेको नेपाली टोलीको बिदाइ तथा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति आयोजित श्रद्धान्जली समारोहमा बोल्दै सचिव खड्काले भने, ‘अबको स्थितिमा देश थप अस्थिरतातर्फ गएन भने एनपीएल तोकिएकै अवधिमा हुन्छ ।’
कार्यक्रममा पहिलो संस्करणमा सहभागी सबै ८ फ्रेन्चाइज टोलीका प्रतिनिधिको सहभागिता थियो । उनले भने, ‘एनपीएलको पहिलो दिनको खेलको टिकट बिक्रीबाट आएको सम्पूर्ण रकम प्रधानमन्त्री कोषमा जम्मा गरिने छ ।’ एनपीएलको खेल तालिका आउन बाँकी रहेका कारण पहिलो दिनको खेलमा को–को खेल्ने भने निश्चित भइसकेको छैन ।
