वर्ल्ड च्याम्पियनसिपमा नेपालको तर्फबाट मुकेशको सहभागिता, मानसिक तनाव र कठिनाइबीच पनि जापानमा राष्ट्रिय कीर्तिमान तोड्नको प्रयास असफल भयो।
What you should know
काठमाडौँ — पहिलो पटक वल्र्ड च्याम्पियनसिप खेल्न जान लागेको थिएँ । यो जापानको टोकियोमा हुँदै थियो । वल्र्ड च्याम्पियनसिपका लागि आफूले सक्दो तयारी गरेको थिएँ । विश्वका एकसेएक एथलेटिक्स खेलाडीमाझ आफ्नो पनि उपस्थिति रहने हुनाले मनमा खुसी र उत्साह थियो । नेपालबाट च्याम्पियनसिपका लागि म मात्र छानिएको थिएँ । त्यसले गर्दा जापानमा राम्रो प्रदर्शन गर्नुपर्ने थप जिम्मेवारी महसुस गरेको थिएँ ।
जेनजी आन्दोलनको दिन (भदौ २३) दिउँसो राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट वल्र्ड च्याम्पियनसिप जानका लागि म र आरके सर (विष्ट) बिदाइ भइसकेका थियौं । भोलिपल्ट (भदौ २४) जापान उड्ने टिकट थियो । बेलुकी आन्दोलनमा गोली लागेर धेरैको मृत्यु भएको र धेरै जना घाइते भएका खबरहरू आए ।
स्थिति असामान्य होला जस्तो लागिरहेको थियो । नभन्दै मंगलबार आन्दोलनले फरक रूप लियो । देशमा विध्वंस मच्चियो । हाम्रो पनि जापान यात्रा हुन सकेन । एयरपोर्ट नै बन्द भएको स्थिति थियो । देशको अवस्था के हुन्छ भन्ने अन्योल थियो । त्यसले गर्दा मलाई त वल्र्ड च्याम्पियनसिप खेल्न पाउँछु भन्ने आस नै थिएन ।
तथापि च्याम्पियनसिप सुरु हुने समय त अलिकति बाँकी थियो । भदौ २८ (सेप्टेम्बर १३) मात्र प्रतियोगिता सुरु हुन्थ्यो । मैले त आशा मारेरै बसेको थिएँ । म त विभागीय खेलाडी । आर्मीमा छु । अब कतिखेर कहाँ ड्युटी पर्छ, त्यसका लागि चुस्ता (आर्मी ड्रेस) मै हुन्थे । तर आरके सरले एयरपोर्ट खुल्ने बित्तिकै जानुपर्छ भनेर पहल गरिरहनुभएको रहेछ । भदौ २६ गते एयरपोर्ट खुलेपछि हामी वल्र्ड च्याम्पियनसिपका लागि आएका हौं ।
च्याम्पियनसिप सुरु भएको भोलिपल्ट मेरो गेम थियो । मैले १५०० मिटर दौडमा सहभागिता जनाएको थिएँ । सोचअनुरुप प्रदर्शन गर्न सकिनँ । यस वल्र्ड च्याम्पियनसिपमा मेरो लक्ष्य राष्ट्रिय कीर्तिमान बे्रक गर्ने थियो । तर, त्यो लक्ष्य पूरा सकिनँ । एकदमै मानसिक तनावबीच वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउनुपरेको थियो ।
धन्न, देशको विषम परिस्थितिका बावजुत पनि जापान आएर वल्र्ड च्याम्पियनसिप खेल्न पाएँ, एक्सपोजर पाएँ, अनुभव बटुलें । त्यो नै मेरा लागि ठूलो उपलब्धि रह्यो । मैले २ मिनेट ५३.९९ सेकेन्ड दुरी पूरा गरें । लक्ष्य २ मिनेट ४६ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोड्ने थियो, यसपालि सकिनँ । अर्कोपल्ट अवश्य तोड्ने छु ।
च्याम्पियनसिप जापान नेसनल स्टेडियममा भएको थियो । हाम्रो प्रारम्भिक हिटमा १५ जना प्रतिस्पर्धी थिएँ । उच्च मनोबल लिएर दौडेको थिएँ । दुई ल्यापसम्म त राम्रो भइरहेको थियो । त्यसपछि अलि गाह्रो महसुस भयो र लक्ष्यमा पुग्न सकिनँ ।
च्याम्पियनसिपमा विश्वका एकसेएक खेलाडी उत्रिएका थिए । मलाई कता–कता आफू त खेलाडी नै होइन कि जस्तो भान गरायो । उनीहरू खेलाडीको हैसियत त्यसरी सुसज्जित थिएँ । ट्रेनिङ गराउने प्रशिक्षकहरू थिएँ । यिनीहरूलाई टे«निङ गराउने प्रशिक्षक मैले पनि पाएँ भने यस्तै हुन्थें कि भन्ने महसुस भयो । लाग्यो, हामीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा ल्याउन नसक्नुको कारण पनि यस्तै यस्तै कुरा त हुन् ।
अर्को वर्ष २० औं एसियाली खेलकुद जापानमै हुँदै छ । त्यसमै केन्द्रित गरेर मैले पनि ट्रेनिङ गरिरहेको छु । एसियाली खेलकुदमा पदक जित्ने लक्ष्य हो । एसियाडमा एथलेटिक्सले अहिलेसम्म पदक जित्न सकेको छैन । राम्रो ट्रेनिङ पाएँ भने त्यो उपलब्धि चुम्न सक्छु भन्ने अठोट छ । त्यसका लागि एथलेटिक्स संघले पनि वैदेशिक प्रशिक्षण मिलाइदिन्छु भनिरहेको छ ।
हामीले खेलकुदको विश्वव्यापी महत्व अझै बुझ्न सकेका छैनौं जस्तो लाग्छ । जेन–जी पुस्ताको आन्दोलनले देश परिवर्तनतर्फ मोडिएको छ । यो बेला खेलकुदमा पनि व्यापक परिवर्तन आवश्यक छ । सरकारले खेलकुदलाई उद्योगको रूपमा हेर्नुपर्छ र त्यहीअनुसार लगानी बढाउनुपर्छ । राष्ट्रका लागि खेल्ने खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी हुनुपर्छ । व्यावसायिक र वैज्ञानिक ढंगबाट अघि बढ्न सकेमात्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता पाउन सक्छौं भन्ने लाग्छ ।मुकेशबहादुर पाल, राष्ट्रिय खेलाडी, एथलेटिक्स (हाल जापानमै रहेका मुकेश केही दिनमा स्वदेश फर्कनेछन्)
