कार्यसमितिमा रिक्त रहेका पदाधिकारी र सदस्यको मनोनयन साधारण सभाले अनुमोदन गरेको हो । त्यसअनुसार अञ्जना उपाध्यक्ष, अनन्त महासचिव, रुपेश केसी, एरिक र अञ्जन विष्ट सदस्य मनोनीत भए ।
काठमाडौँ — नेपाली महिला राष्ट्रिय टोलीका गोलरक्षक अञ्जना रानामगर, राष्ट्रिय पुरुष टोलीका अनन्त तामाङ, रुपेश केसी, एरिक विष्ट र अञ्जन विष्टलाई कार्यसमितिमा समेट्दै नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
कार्यसमितिमा रिक्त रहेका पदाधिकारी र सदस्यको मनोनयन साधारण सभाले अनुमोदन गरेको हो । त्यसअनुसार अञ्जना उपाध्यक्ष, अनन्त महासचिव, रुपेश केसी, एरिक र अञ्जन विष्ट सदस्य मनोनीत भए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको वार्षिक साधारणसभाले संघको विधान अनुमोदन गरेको छ ।
विधानमा ४५ वर्षमुनिका खेलाडी मात्र संघको साधारण सदस्य रहन सक्ने र व्यावसायिक रूपमा प्रशिक्षणमा सामेल हुने खेलाडीको सदस्यता खारेज हुने वैधानिक व्यवस्था गरिएको संघका अध्यक्ष विक्रम लामाले जानकारी दिए । संघको केन्द्रीय परिषद्मा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका खेलाडीलाई पनि मनोनयन गर्ने सकिने विधानमा उल्लेख गरिएको छ ।
यसअघि नेपालका सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र संघको सदस्यता लिन पाउने वैधानिक व्यवस्था थियो । अब भने सबै लिग खेलेका फुटबल खेलाडीले सदस्यता लिन पाउने वैधानिक व्यवस्था गरिएको छ । संघले एक महिनाको समयसीमा तोकेर नयाँ सदस्यलाई फारम भर्न आह्वान गरेको छ ।
साधारण सभाको उद्घाटन सत्रमा संघका पूर्व अध्यक्षद्वय उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरिएको थियो । उनीहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र संघका अध्यक्ष लामाले सम्मान गरे ।
अध्यक्ष नेम्वाङले फुटबल खेलाडी संघ चलायमान रहेको र खेलाडीको हकहितका लागि क्रियाशील रहेको बताए । एक दशकसम्म संघको नेतृत्व गरेका पूर्वअध्यक्ष सिंहले खेलाडीको खेल्न पाउने अधिकारका लागि संघबाट हुने कार्यक्रमको प्रशंसा गरेका थिए । खेलाडीको पक्षमा निर्णय गराउन संघले भूमिका खेल्नुलाई उनले सकारात्मक कदम भएको बताए ।
खेलाडी संघका अध्यक्ष लामाले खेलाडीलाई पर्न सक्ने यावत समस्याको समाधानको पहल गर्न सधैं क्रियाशील रहने बताए । खेलाडी संघ एन्फाको सदस्य संस्था हो । संघको पछिल्लो निर्वाचन २०७९ मा भएको थियो ।
