३२ खेलका लागि २ सय ३९ पुरुष र १ सय ९५ महिला गरेर कुल ४ सय ३४ खेलाडीको संख्या दर्ता गरिएको छ ।
काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानको आइची र नागोयामा हुने २०औं एसियाली खेलकुदमा खेलाडीको संख्यासहित खेल दर्ता भएको बुधबार जनाएको छ । त्यसअनुसार ३२ खेलका लागि २ सय ३९ पुरुष र १ सय ९५ महिला गरेर कुल ४ सय ३४ खेलाडीको संख्या दर्ता गरिएको छ ।
अबको एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । सेप्टेम्बर १६ मंगलबारसम्म सहभागी देशले खेल र त्यसमा सहभागी हुने खेलाडीको संख्या दर्ता गर्नु पर्ने अन्तिम मिति रहेको थियो ।
यसअघि ३० खेलमा सहभागी हुने दर्ता भएकोमा त्यसमा तेक्वान्दो र फुटबल पनि समावेश गरेर ३२ खेलका खेलाडी संख्या पठाइएको हो । ती ३२ खेलका संघले पठाएको खेलाडी संख्याका आधारमा एनओसीले खेलाडीको संख्यासहित खेल दर्ता गरेको हो ।
एनओसीले यसका लागि सुरुमा युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्मा पत्राचार गरे पनि तिनीहरू प्रतिक्रिया दिएका थिएनन् । नेपाल एथलेटिक्स संघले पनि सूची नपठाएकाले एनओसी आफैंले म्याराथनमा पुरुष र एक महिला खेलाडी संख्या पठाएको छ ।
