नेपालले एएफसी फुटसल कप २०२६ को छनोटमा भाग नलिएपछि यो कारबाही गरिएको हो ।
काठमाडौँ — एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघलाई कारबाही गर्दै १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । त्यस कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई जरिवाना लगाएको हो ।
नेपालले एएफसी फुटसल कप २०२६ को छनोटमा भाग नलिएपछि यो कारबाही गरिएको हो । कमिटीका अनुसार एन्फाले छनोटका खेल सुरु हुन १ सय ६ दिन अगाडि नाम फिर्ता लिएको थियो । एन्फालाई प्रतियोगिताको नियमावाली ६.७ अनुसार कारबाही गरिएको हो ।
कारबाही अनुसार नेपालले १० हजार अमेरिकी जरिवाना यसबारे सूचना दिएको ३० दिनभित्र बुझाउनु पर्नेछ । यस्तै नेपाललाई यही फुटसल प्रतियोगिताको अर्को संस्करणमा भाग लिन नपाउने गरेर पनि कारबाही गरिएको छ । एन्फा स्रोतले पनि कारबाही पुष्टि गर्दै यो सबै चरम लापरबाहीले भएको बताएको छ ।
