पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित यूएईले सोमबार अबुधावीमा भएको आफ्नो दोस्रो खेलमा ओमानलाई ४२ रनले पराजित गरेको छ ।
दुबई — एईले एसिया कप क्रिकेटको सुपर फोरमा पुग्ने आशालाई जीवितै राखेको छ । पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित यूएईले सोमबार अबुधावीमा भएको आफ्नो दोस्रो खेलमा ओमानलाई ४२ रनले पराजित गरेको छ ।
यूएईले बुधबार पाकिस्तानसँग लिगको अन्तिम खेल्नेछ र विजेता टोली समूह ‘ए’ बाट सुपर फोरमा पुग्नेछ । यही खेलको विजेता टोलीले आइतबार पुनः भारतसँग खेल्नेछ । ओमानमाथि यूएईको जितले भारतको पनि औपचारिक रूपमा सुपर फोरमा निश्चित भएको हो । पहिलो दुई खेल जितेको भारतले शुक्रबार ओमानसँग लिगको अन्तिम खेल खेल्नेछ ।
अलिसन सराफु र मोहम्मद वसिमले ११ ओभरभित्र पहिलो विकेटमा ८८ रनको साझेदारी गरेपछि पहिलो ब्याटिङ गर्न निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो । सराफुले ३८ बल खेल्दै ७ चौका र १ छक्कासहित ५१ र वसिमले ५४ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै ६९ रन बनाए ।
जबाफमा आएको ओमान १८.४ ओभरमा १ सय ३० रनमा अलआउट भयो । ओमानका लागि आर्यन विष्टले २४ तथा कप्तान जतिन्दर सिंह र विनायक शुक्लाले समान २० रन बनाए । यूएईबाट जुनैद सिद्दिकीले ४ ओभरमा २३ रन खर्चेर ४ तथा हैदर अली र मोहम्मद जवादुल्लाहले २–२ विकेट लिएका थिए ।
