सैनिक द्वन्द्वपछि एसिया कपमा आमनेसामने हुँदै भारत–पाकिस्तान  

मे महिनामा दुई देशबीच भएको सैनिक द्वन्द्वपछि भारत र पाकिस्तानबीच हुन लागेको यो पहिलो क्रिकेट खेल हो

भाद्र २९, २०८२

एएफपी

दुबई– भारत र पाकिस्तान एसिया कप ट्वान्टी–२० क्रिकेटमा आइतबार भिड्दै छन् । मे महिनामा दुई देशबीच भएको सैनिक द्वन्द्वपछि खेल्न लागेको यो पहिलो खेल हुनेछ । यो त्यो पृष्ठभूमिमा हुन लागेको छ, जतिबेला भारत र श्रीलंकाले फेब्रुअरी–मार्चमा ट्वान्टी–२० विश्वकप आयोजना गर्दैछन् । दुवै टिमका जित र हार खाली जित र हारमै मात्र सीमित रहने खेल हुने छैन ।

त्यही खेललाई लिएर पाकिस्तानका पूर्व खेलाडी वसिम अक्रमले भनेका छन्, ‘सबै आ–आफ्नो मर्यादामा रहनुपर्नेछ र कसैले कुनै सीमा नाघ्ने काम गर्नुहुन्न ।’ दुवै देशले सन् २०१२ यता एकले अर्को भूमिमा गएर दुईपक्षीय शृंखला खेलेका छैनन् । दुवै टिमले खेल्ने भनेकै अन्तर्राष्ट्रिय प्रतियोगितामा हो, त्यो पनि तटस्थ भूमिमा । अन्तर्राष्ट्रिय क्रिकेटमा भएको सहमति नै यस्तै छ । 

संयोग, यसपल्टको ट्वान्टी–२० ढाँचाको एसिया कपमा दुई छिमेकी देश एउटै समूहमा छन् । सम्भवतः उनीहरूले एकपल्ट होइन, तीनपल्ट खेल हुन सक्ने छ । पछिल्लो पटक दुई देशबीच चार दिनको तनावपूर्ण द्वन्द्व चलेको थियो । यो सन् १९९९ यताको सबैभन्दा डरलाग्दो थियो । युद्धविराम गर्न अगाडि दुवै देशले एकअर्काविरुद्ध मिसाइल र ड्रोनले आक्रमण गरेका थिए । यसैक्रममा ७० भन्दा बढीको मृत्यु पनि भएको थियो । पछि दुवै देशले आफू विजयी रहेको दाबी पनि गरे । 

यही तनावबीच जुलाई–अगस्टमा इंग्ल्यान्डमा भएको लिजेन्डरी खेलाडीको विश्व च्याम्पिनसिपमा भारतले पाकिस्तानविरुद्धको सेमिफाइनल खेल खेलेको थिएन । त्यस टिमका कप्तान थिए, युवराज सिंह । लिग चरणमा पनि भारतले पाकिस्तानविरुद्धको खेल खेलेको थिएन । 

त्यस टिमका एक भेट्रान सदस्य हरभजन सिंह हुन् । उनले अहिलेको एसिया कपमा पनि भारतले पाकिस्तानविरुद्ध खेल्नुहुन्न भनेर भनिरहेका छन् । उनले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘रगत र मित्रता कहिले पनि एक ठँउँमा हुँदैन । जतिबेला दुई देशबीच सीमामा युद्ध चलिरहेको हुन्छ, जब दुई देशबीच अत्यधिक तनाव हुन्छ, त्यतिबेला हामीले क्रिकेट खेल्नु ठीक हुन्न । देशसँग जोडिएका ठूल्ठुला मुद्दासामु क्रिकेट खेल केही पनि होइन ।’

भारत नै बलियो  

nखेल आफैमा ‘ब्लकबस्टर्स’ हुनेछ । तर जितका लागि बलियो प्रत्याशी भने भारत रहनेछ । पछिल्लो पटक भारत र पाकिस्तान भिडेको भनेको फेब्रुअरीमा हो । त्यो पनि दुबईमै । अवसर थियो, ५० ओभरको च्याम्पियन्स ट्रफी । त्यसमा भारत ६ विकेटले सजिलै विजयी रहेको थियो । पछि भारतले नै उपाधि पनि जित्यो । अहिले एसिया कपमा पनि भारत नै डिफेन्डिङ च्याम्पियन हो । 

भारतीय टिमले सूर्यकुमार यादवको नेतृत्वमा खेल्दै छ । ट्वान्टी–२० क्रिकेटमा दुई टिम अहिलेसम्म भिड्दा भारत १०–३ ले अगाडि छ । फेरि खराब लयका कारण पाकिस्तानी टिममा बाबर आजम र मोहम्मद रिजवान जस्ता दुई हस्ती खेलाडी छैनन् । सन् २०२३ मा भारतले पछिल्लो एसिया कप जितेको थियो, जतिबेला यो एकदिवसीय क्रिकेटको ढाँचामा खेलिएको थियो । 

कोलम्बोमा भएको फाइनलमा भारतले श्रीलंकालाई नै हराएको थियो । यसपल्ट पनि भारत नै उपाधिका लागि सबैभन्दा बलियो मानिएको छ । तीव्र गतिका सफल पूर्वबलर अक्रम के पनि भन्छन् भने दुवै टिमले मैदानबाहिरको तनाव र परिस्थिति बिर्सेर खेल्ने हो । ‘खाली क्रिकेटको मज्जा लिएर खेले पुग्छ,’ उनी भन्छन्, ‘क्रिकेटबाहिर के भइरहेको छ, त्यो खेलाडीले भुल्नुपर्ने हुन्छ ।’ 

उनी थप्छन्, ‘सबैलाई थाहा छ, एउटा टिमले जित्नेछ, अर्को टिमले हार्नेछ । कसैले पनि यो खेल जित्छ भने त्यो परिस्थितिको खुस लिने हो । आखिरमा यो क्रिकेटको एउटा खेलमात्रै हो । यो दुवै टिमका समर्थकका लागि भने एउटा क्रिकेटको खेलमात्रै हो ।’ यो खेल हेर्नका लागि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान २५ हजार दर्शकको पूर्ण क्षमताले भरिने विश्वास गरिएको छ । 

भारतमा चर्को विरोध

nपाकिस्तानविरुद्धको यो खेललाई लिएर भारतभित्र भने साँच्चै चर्को विरोध देखिएको छ । लामो समयदेखि भारतीय क्रिकेटबारे लेखिरहेका कुलदीप भन्छन्, ‘जतिबेला यो खेलको तालिका आयो, त्यही बेलादेखि भारतमा यसलाई लिएर विरोध सुरु भएको थियो । धेरै भारतीयलाई के लाग्छ भने पाकिस्तानसँग यति बेला क्रिकेट खेल्नु ठीक होइन । यो भारत र पाकिस्तानबीचको क्रिकेटका लागि साँच्चै निकै खराब समय हो ।’ 

कुलदीपका अनुसार धेरै भारतीय क्रिकेट समर्थक के मान्छन् भने यो खेलको औचित्य भनेको भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का लागि राम्रो आम्दानीको स्रोत मात्रै हो । बीसीसीआई विश्व खेलकुदकै सबैभन्दा धनी र शक्तिशाली संस्था हो । त्यसैले बीसीसीआईले सजिलै यो खेल खेल्दिनँ भन्न सक्नुपर्ने थियो । कुलदीप भन्छन्, ‘जतिबेला दुई देशबीच चर्को तनाव छ, त्यतिबेला क्रिकेट ठीक हुन्न ।’ 

उनी थप्छन्, ‘अहिले भारतीय सरकारले पाकिस्तानीलाई प्रवेश आज्ञा दिइरहेको छैन । भारतमा भएका पाकिस्तानीलाई पनि आफ्नो देश फर्की भनिरहेको छ । पाकिस्तानी कूटनीतिज्ञहरूलाई पनि प्रतिबन्धको स्थिति छ, त्यही बेला क्रिकेट कसरी ठीक हुन्छ ?’ अझ उनलाई के डर छ भने समूह ‘ए’ को यो खेलमा भारत हार्ने हो भने आप्mनो देशमा यसको चर्को विरोध हुने निश्चित छ । 

दुवैको ध्यान क्रिकेटमै मात्र

nयस खेलको पूर्वसन्ध्यामा दुवै टिमले आफ्नो ध्यान क्रिकेटमै मात्र रहेको बताएका छन् । भारतीय क्रिकेटका ब्याटिङ प्रशिक्षक शितांशु कोटक भन्छन्, ‘बीसीसीआईले भनिसकेको छ, सरकारसँग कुरा गरिसकेपछि नै खेल खेल्न लागेको हो, त्यसैले हाम्रो ध्यान पूर्णतः क्रिकेटमै मात्र छ । हामी यहाँ क्रिकेट खेल्नकै लागि आएका हौं । मलाई के लाग्दैन भने खेलाडीले पनि क्रिकेटभन्दा परको कुनै मुद्दाबारे सोचिरहेका छन् ।’ 

पाकिस्तानी क्रिकेट टोलीका प्रशिक्षक माइक हेसनले पनि आफ्ना खेलाडीलाई पूर्णतः क्रिकेटमै ध्यान दिन निर्देशन दिएका छन् । ‘यो खेल जत्तिको रोमाञ्चक र तनावपूर्ण क्रिकेटमा अर्को हुन्न । मेरो विचारमा यही कारणले सबैको ध्यान पूर्णतः क्रिकेटमै मात्र हुनुपर्छ । मलाई के लाग्छ भने भारतीय टिम पक्कै पनि आत्मविश्वासले भरिएको हुनुपर्छ । तर, हामी कम्तीका हुने छैनौं ।’ 

एएफपी

Link copied successfully