यो उनको खेल जीवनको चौथो ग्रान्ड स्लाम उपाधि हो ।
काठमाडौँ — विश्व नम्बर १ खेलाडी आरयाना सबलेन्काले आइतबार अमान्डा एनिसिमोभालाई सिधा सेटमा पराजित गर्दै यूएस ओपनको उपाधि रक्षा गरेकी छिन् । यो उनको खेल जीवनको चौथो ग्रान्ड स्लाम उपाधि हो ।
एनिसिमोभाको सर्भिस गेममाथि कडा आक्रमण बुन्दै सबलेन्काले ६–३ र ७–६ (७/३) को जित आत्मसात् गरेकी हुन् । आर्थर ऐस स्टेडियममा प्राप्त यो जितपछि उनले महिला विश्व टेनिसमा आफू उत्कृष्ट रहेको प्रमाणित गरिन् ।
बेलारुसकी २७ वर्षीय खेलाडीका लागि सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्ने हो भने यो नै अन्तिम अवसरको थियो । उनी अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको फाइनलमा पराजित रहेकी थिइन् ।
‘म अहिलेको जितको शब्दमा बयान गर्न सक्ने स्थितिमा रहिनं,’ फाइनलपछि सबलेन्काले भनिन्, ‘ती हारले मलाई धेरै ठूलो शिक्षा दिएको छ ।’
