जुम्लामा अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता

जिल्ला फुटबल संघ जुम्लाले विद्यालयस्तरसम्म फुटबलको सहज पहुँच पुर्‍याउने हेतुले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

भाद्र २२, २०८२

डीबी बुढा

Inter-school level football tournament in Jumla

जुम्ला — जसम्लामा अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । १४ वर्ष मुनिका उमेर समूहका विद्यार्थीहरु प्रतियोगितामा सहभागी छन् ।

जिल्ला फुटबल संघ जुम्लाले विद्यालयस्तरसम्म फुटबलको सहज पहुँच पुर्‍याउने हेतुले प्रतियोगिता आयोजना गरेको जनाएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले खेलाडीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए । 'पछिल्लो समयमा फुटबलको राम्रो संभावना छ । प्रतिभावान खेलाडी उत्पादन हुन सक्ने देखिएको छ,' प्रमुख आचार्यले भने, ‘अब हरेक विद्यालय गाउँ टोलसम्म फुटबल पुर्‍याउन सकेमा राम्रो सन्देश फैलन सक्ने देखिएको छ ।’

प्रतियोगितामा जिल्लाका २४ विद्यालयले भाग लिएका छन् । जसमा १४ वटा छात्र र १० वटा छात्रा टीम सहभागी छन् । 

नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रमअनुसार अन्तरविद्यालयस्तरीय प्रतियोगिता सुरु भएको अध्यक्ष भरतबहादुर बुढ्थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो पुस्ता फुटबल खेलप्रति आकर्षित छ । उनीहरुलाई हौसला दिएमा राम्रो खेलाडी उत्पादन गर्न सकिने देखिन्छ । 

नेपाली सेनाको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताले हरेक विद्यालयमा फुटबल खेल पुर्‍याउने एन्फाले जनाएको छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully