राष्ट्रिय महिला भलिबल टिम कप्तान शाही घाइते

एभरेस्ट महिला भलिबल लिगमा शनिबार कर्णाली यश्विससँगको खेलका क्रममा लुम्बिनी लाभाजको कप्तान रहेकी शाही घाइते भएकी हुन् ।

भाद्र २१, २०८२

अनुप पौडेल

National women's volleyball team captain Shahi injured

कास्की — पोखरामा जारी लिग खेल्ने क्रममा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही घाइते भएकी छन् । वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा शनिबार कर्णाली यश्विससँगको खेलका क्रममा लुम्बिनी लाभाजको कप्तान रहेकी शाही घाइते भएकी हुन् ।

उनको आँखाको माथिपट्टि भागमा चोट लागेको छ । चोट लागेको ठाउँमा ६ वटा टाँका लगाएपछि डिस्चार्ज भएको शाहीले बताइन् । उनी उपचारपछि शनिबार साँझ टिम सदस्य बसेको होटेलमा फर्किएकी छन् । 

बल रिसिभ गर्ने क्रममा मार्कीसमेत रहेकी उनी आफ्नै टिमकी भेरोनिका जुबरेभासँग ठोक्किएकी थिइन् । चोट लागेर रगत बगेपछि उनी मैदान बाहिर रहिन् । त्यतिबेला कर्णाली २१–१७ अंक बनाएर अगाडि थियो । लुम्बिनीका खेलाडी दबाबमा रहँदा त्यसपछि कर्णालीले लगातार ४ अंक जोडेर सेट आफ्नो पक्षमा पार्‍यो ।

चौथो सेटमा प्रदर्शन सुधार भए पनि जितका लागि पर्याप्त रहेन । अन्ततः साविक विजेता कर्णालीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्‍यो । खेलको पहिलो सेट लुम्बिनीले २५–२३ ले जितेको थियो । त्यसपछिका सेट पनि निकै प्रतिस्पर्धात्मक रहे । कर्णालीले दोस्रो सेटमा २५–२१, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २५–२२ को जित निकाल्यो ।

लुम्बिनीले आइतबार पोखरा निन्जाजसँग खेल्दैछ । टाँका लगाइएकाले अरुणाले सम्भवत: लिगमा अब हुने सबै चार खेल गुमाउनेछिन् ।

अनुप

Link copied successfully