मधेशले घरेलु टिम पोखरालाई ३–० को सोझो सेटमा हरायो ।
कास्की — मधेश युनाइटेडले वात्सल्य एभरेस्ट महिला भलिबल लिगको इतिहासमै पहिलोपटक जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार पोखरा निन्जाजलाई हराउँदै मधेशले लिगमा पहिलोपटक खेल जितेको हो ।
मधेशले घरेलु टिम पोखरालाई ३–० को सोझो सेटमा हरायो । मधेशले पहिलो र दोस्रो दुवै सेट बराबर २५–१९ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट पनि मधेशले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रथम संस्करणमा पाँच वटै खेलमा पराजित भएको मधेशले दोस्रो संस्करणको दोस्रो खेल जितेको हो ।
हालसम्म ललितपुर र कर्णालीले बराबर ६–६ अंक बनाएका छन् । दुवै खेल सोझो सेटमा जितेकाले ललितपुर अंकतालिकाको शीर्ष स्थानमा छ । एक खेल जितेको मधेश तेस्रो स्थानमा छ ।
लिगमा आइतबार दुई खेल हुनेछन् । पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडबीच दिउँसो २ बजे हुनेछ । दोस्रो खेलमा लुम्बिनी लाभाज र पोखरा निन्जाज दिउँसो ४ बजे भिड्नेछन् ।
