पोखरेली भूमिमा आजदेखि भलिबल लिग

लिगको उद्घाटन खेलमा साबिक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजसँग खेल्दै छ । घरेलु टिम भएकाले पोखरालाई दर्शकको बलियो साथ रहनेछ । उत्कृष्ट प्रदर्शनसँगै दर्शकको साथको बलमा पोखरा उपाधि उचाल्ने दाउमा छ ।

भाद्र २०, २०८२

अनुप पौडेल

Volleyball league in Pokhreli land from today

What you should know

कास्की — भलिबलका ठूला प्रतियोगिताले काठमाडौंको विकल्प खोजिरहँदा पोखरा एकपछि अर्को इतिहास कोर्न पछि परेको छैन । यहाँको बहुउद्देश्यीय कभर्डहलमा भइरहेका प्रतियोगिताले पोखरालाई बलियो विकल्प र प्राथमिकता साबित गर्न बल पुर्‍याएकै छ । यहीबीच वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण शुक्रबार पोखरामा सुरु हुँदै छ ।  

पोखरा रंगशालास्थित कभर्डहलमा ६ फ्रेन्चाइच टिमले प्रतिस्पर्धा गर्दै छन् । कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज दोस्रो संस्करणका प्रतिस्पर्धी हुन् । यसपालि खेल्ने ठाउँ मात्र नयाँ छैन, केही टिम र खेलाडी नयाँ हुनेछन् । चितवन शक्ति र गण्डकी थन्डर्सको ठाउँमा क्रमशः लुम्बिनी लाभाज र पोखरा निन्जाजले लिगमा प्रवेश पाएका छन् । 

नेपाली महिला भलिबलकै इतिहासमा पहिलो पटक अक्सनमार्फत खेलाडी चयन भएर यो लिग हुँदै छ । त्यसैले सबै टिममा अघिल्लो संस्करणमा भन्दा खेलाडी परिवर्तित छन् । नयाँ र विदेशी खेलाडीसँग तालमेल मिलाएर कोर्टमा उत्कृष्ट प्रदर्शन गर्नु सबै टिमको साझा चुनौती हुनेछ ।

सबै टिमले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउँछन् । ६ टिमबाट खेल्न १८ विदेशी खेलाडी फोखरा आएका छन् । क््रोएसिया, थाइल्यान्ड, नेदरल्यान्ड्स, रसिया, रोमानिया, अमेरिका, ब्राजिल, ग्रिस, किर्गिस्तान, सर्बियाका खेलाडी पोखरा आइपुगेका हुन् । 

लिग चरणमा १५ खेल हुनेछ । सबैले एकअर्कासँग खेल्दा शीर्ष दुईमा रहनेले भदौ २८ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Volleyball league in Pokhreli land from today

कर्णालीले सुमित्रा रेग्मी, पोखराले प्रगति नाथ, मधेशले निरुता ठगुन्ना, लुम्बिनीले अरुणा शाही, काठमाडौंले उषा भण्डारी र ललितपुरले सलिना श्रेष्ठलाई मार्की खेलाडी बनाएको छ । प्रगतिबाहेक अरू सबै पहिलो संस्करणका पनि मार्की हुन् । 

विदेशी खेलाडीसँग छोटो अभ्यासबीच कोर्टमा उत्रँदा तालमेल नमिल्ने डर सबैजसो टिममा छ । काठमाडौं स्पाइकर्सकी मार्की उषा भण्डारीले विदेशी खेलाडीसँग पर्याप्त अभ्यास गर्न नपाएको सुनाइन् । ‘नेपाली खेलाडीसँग अभ्यास गरेको एक हप्ता भयो । विदेशी खेलाडीसँग एकदिन मात्र अभ्यास गर्न पाएका छौं,’ उनले भनिन्, ‘उहाँहरूसँग अझै तालमेल मिलिरहेको छैन । त्यो पनि मिल्छ ।’  उनले पोखरामा भलिबलको क्रेज राम्रो भएकाले आफू निकै उत्साही रहेको सुनाइन् । 

टिमका खेलाडी हेर्दा पहिलो संस्करणमा कर्णालीले उपाधि जित्नेमा धेरैको आशंका थियो । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन र नेपाली खेलाडीको साथले कर्णाली उपाधि जित्न सफल भयो । यसपालि कर्णालीलाई उपाधि रक्षा गर्नुपर्ने चुनौती छ । गत संस्करणभन्दा सबै खेलाडी नयाँ भएकाले चुनौती रहेको कर्णालीकी मार्की सुमित्रा रेग्मीले बताउँछिन् । ‘सबै खेलाडी नयाँ भएकाले चुनौती छ । नेपालीसँग अभ्यास गर्दा हामी परिवारजस्तै भएका छौं । विदेशी खेलाडीसँग पनि २–३ दिन खेल्दा राम्रो भएको छ,’ उनले भनिन् । 

लिगको उद्घाटन खेलमा साबिक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजसँग खेल्दै छ । घरेलु टिम भएकाले पोखरालाई दर्शकको बलियो साथ रहनेछ । उत्कृष्ट प्रदर्शनसँगै दर्शकको साथको बलमा पोखरा उपाधि उचाल्ने दाउमा छ । ‘अघिल्लो संस्करणमा हामीले पनि राम्रो प्रदर्शन गरेका थियौं । कर्णाली, पोखरा दुवै राम्रो टिम छ,’ पोखराकी मार्की प्रगति नाथले भनिन्, ‘हामीले खेल राम्रो खेल्दै गयौं भने त्यसको धेरै फाइदा हुन्छ ।’ कर्णाली र पोखराबीचको खेल शुक्रबार दिउँसो हुनेछ । 

शुक्रबार नै ललितपुर क्विन्स र मधेश युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् । ललितपुर साबिक उपविजेता हो । मधेश गत संस्करणमा कमजोर देखिएको थियो । गत वर्ष तीन फरक देशका खेलाडी ल्याएको मधेशले यसपालि नेदरल्यान्ड्सका मात्र खेलाडी टिममा समावेश गरेको छ । साबिक उपविजेता ललितपुरलाई यसपालि विजेता बन्नुपर्ने दबाब हुनेछ । 

काठमाडौंको राखेप कभर्डहल मर्मत चरणमा हुँदा नवौं प्रधानमन्त्री कप एनभीए लिग, प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामै भएका थिए । त्यसअघि वैशाखमा पोखरामै पहिलो पटक लायन्स क्लबले अन्तर्राष्ट्रिय स्तरको इन्डोर भलिबल प्रतियोगिता गरेको थियो । 

लुम्बिनीकी मार्कीसमेत रहेकी राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही भलिबलको क्रेजका लागि काठमाडौं बाहिर प्रतियोगिता हुनु सकारात्मक भएको बताउँछिन् । ‘पोखरा र काठमाडौंभन्दा पनि सबै क्षेत्रमा गर्न जरुरी छ । पोहोर काठमाडौंमा भयो, अहिले पोखरामा भयो । अर्कोपटक अर्को ठाउँमा भयो भने भलिबल क्रेज देशको सबै ठाउँमा फैलिन्छ,’ उनले भनिन् ।  

अनुप पौडेल

Link copied successfully