गण्डकी भलिबलबाट उदाएका हिमाल

हिमाल भन्छन् : ‘राष्ट्रिय टिमको जर्सी लगाउने चाहना छ । तर केही छैन । दर्शकको माया र साथ नै मेरा लागि सबथोक हो ।’

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Mountains rising from Gandaki volleyball

What you should know

काठमाडौँ — नेपालमा आयोजना हुनेमध्ये सबैभन्दा बढी हुने खेल नै भलिबल हो भने त्यसको उर्बरभूमि ‘गण्डकी प्रदेश’ हो । त्यही भलिबलमा विभागीय टोली बाहिरको चर्चित क्लबमा गण्डकीको नाम अग्रणी छ । पाँच विकास क्षेत्र हुँदा होस् या संघीयतापछिको सात प्रदेश । तत्कालीन पश्चिमाञ्चल होस् या गण्डकी । भलिबलमा कहिल्यै पछि परेन । अहिले भलिबलको इभेन्टमा गण्डकीको सहभागिता रहेन भने त्यो कता–कता अपुरो जस्तै हुन्छ । 

गण्डकीको टिममा एकसेएक खेलाडी छन्, जो दर्शकमाझ निकै लोकप्रिय छन्  । तिनै चर्चित नाममध्ये एक हुन्, हिमाल सुनारी । पाल्पा निस्दी–४ मा जन्मेका हिमाल रेवनसिंह र खगीसरा सुनारीका सुपुत्र हुन् । जन्मथलो पाल्पा भए पनि भलिबलको कर्मथलो गण्डकी बन्यो । हिमालको भलिबलको यात्रा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सुरु भयो । त्यसपछि उनी गण्डकी टिमसँग जोडिए । पाँचौं एनभीए कपबाट राष्ट्रिय स्तरको खेल खेल्न सुरु गरेका हिमालले २०७८ सालमा दोस्रो टाइगर कप भलिबलबाट गण्डकीमा डेब्यु गरेका थिए । 

नेपालमा हुने सबै जसो राष्ट्रिय स्तरका प्रतियोगितामा उनको उपस्थिति टुटेको छैन । काभा क्लब भलिबल च्याम्पियनसिप, नवौं राष्ट्रिय खेलकुद, ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता, एनभीए कपलगायत सबै प्रतियोगितामा उनी आकर्षणको पात्र बने । गण्डकीको प्रतिनिधित्व गर्दै यूएई, मलेसिया र हङकङसम्म पुगिसकेका छन् उनी । 

समर्थकमाझ किन चर्चित हिमाल ? त्यो उनको खेल कौशल र शालीन स्वभावले हो । उनको मुख्य विशेषता भनेको क्विक स्पाइक हो । खेलमा उनको जोसले दर्शकलाई बुरुक्क उफार्ने गर्छ । टोलीलाई आवश्यक परेका बेला अहम् भूमिका निभाउँछन् । अनि त भलिबल दर्शकको क्रेज रहेको गण्डकीमा हिमालका समर्थक टन्नै छन् । 

यति प्रतिभाशाली भएर पनि हिमाल राष्ट्रिय टोलीमा किन छैन त ? यसको कारण उनको होचो कदलाई मानिन्छ । यद्यपि यसमा हिमाललाई कुनै दुःख छैन । उनी देशको सहरदेखि गाउँ र सुगमदेखि दुर्गमसम्म खेल्न पुग्छन् । स्थानीय टोल कप हुँदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितासम्म आइपुग्दा हिमालले प्राप्त गरेको उपाधिको कुनै मूल्य छैन । भन्छन्, ‘राष्ट्रिय टिमको जर्सी लगाउने चाहना छ । तर केही छैन । दर्शकको माया र साथ नै मेरा लागि सबथोक हो ।’

गण्डकी भलिवल हिमालका लागि अति प्रिय छ । उनी भन्छन्, ‘गण्डकी मेरो लागि सबै हो । भलिबलले मलाई धेरै दिएको छ, मैले त्यसको गुन तिर्नुपर्नेछ ।’ हिमाल अहिले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । विगतमा पिपल्स च्वाइसमा राष्ट्रिय महिला भलिबलका खेलाडीको वर्चस्व रहँदा यसपालि गण्डकीका यी उदाउँदा ताराले अवार्डमा दाबी गरेका छन् । महिला खेलाडीबाहेक हिमालले अवार्ड जिते उनी पहिलो भलिबल खेलाडी हुनेछन् । उनीसँग उसुका विजय सिंजाली, टेबलटेनिसकी इभाना थापा, फुटबलकी रेखा पौडेल र क्रिकेटकी पूजा महतो प्रतिस्पर्धामा छन् । 

पिपल्स च्वाइसको भोटिङमा ५० प्रतिशत मत खल्ती आईएमई एपको मत, २५ प्रतिशत फेसबुक लाइक तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूको मत २५ प्रतिशत रहनेछ । अवार्ड यही भदौ २९ गते पोखरामै हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully