पूर्व खोला गाउँपालिका ‘ए’ समूहका मोहन ढकाल र झविन पल्लीको जोडीले रामपुर नगरपालिकाको ‘ए’ समूहका दान बहादुर राना र ज्ञान बहादुर सिंजालीको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।
What you should know
पाल्पा — तानसेनस्थित भुसालडाँडा कभर्डहलमा सम्पन्न ‘प्रथम युनियन कप’डबल्स ब्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फको उपाधि पूर्व खोला गाउँपालिका ‘ए’ समूहले हात पारेको छ । बिहीबार बेलुकी अबेर सम्पन्न फाइनलमा पूर्व खोला गाउँपालिका ‘ए’ समूहका मोहन ढकाल र झविन पल्लीको जोडीले रामपुर नगरपालिकाको ‘ए’ समूहका दान बहादुर राना र ज्ञान बहादुर सिंजालीको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।
प्रथम भयसँगै पूर्वखोलाले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको रामपुरले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । नेपाल निजामती कर्मचारी युनियन पाल्पाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ माथागढी गाउँपालिका र सुन्तलाजात फलफूल विकास केन्द्र तेस्रो भएका छन् ।
रामपुर नगरपालिका ‘ए’ समूहले ३–१ को सेटमा माथागढीका विक्रम गरम्जा र अम्बर बहादुर बाकाबल साथै पूर्वखोलाले सुन्तला जात फलफूल विकास केन्द्र ‘ए’ समूहका उमनाथ खनाल र दिलबहादुर सारुको जोडीलाई २–० को सेटमा सेमिफाइनलमा पराजित गरेका थिए । तेस्रो भयसँगै नगद ५–५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा पुरुषतर्फ ४६ जोडीको सहभागिता रहेको प्रतियोगिता संयोजक जीवन रानाले जानकारी दिए ।
महिलातर्फको फाइनलमा माथागढी गाउँपालिका पहिलो भएको छ । माथागढीका पुनम चिदी र जितकुमारी ढेंगाको जोडीले रैनादेवी छहरा गाउँपालिकाका रितु जीसी र शर्मिला रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो भयसँगै माथागढीले नगद ८ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
दोस्रो भएको रैनादेवीले नगद ४ हजार ट्रफी, मेडल र प्रमाणपत्रमै चित्त बुझायो । महिलातर्फ कालीगण्डकी करिडोर आयोजनाका कल्पना अधिकारी र गंगा भण्डारी साथै रिब्दीकोटका प्रज्ञा लाम्टाङ्गे र पुण्डरी अर्यालको जोडी तेस्रो भयो । तेस्रो हुनेलाई नगद २/२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । महिलातर्फ ११ जोडीको सहभागिता थियो ।
बिजेता तथा उपबिजेता खेलाडीलाई पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुंवर, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष ओमप्रकाश न्यौपाने, जिल्ला ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष बसन्तलाल बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराज सुवेदी, युनियनका पूर्व केन्द्रीय सदस्य लीला अर्याल, खेल संयोजक जीवन राना लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रमुख जिल्ला अधिकारी बज्राचार्य कुंवरले खेलकुदको माध्यमबाट शरीरलाई स्वस्थ राख्न सकिने भएकाले कर्मचारीले सेवाप्रवाहमा पनि तन्दुरुस्तीपनासहित लाग्न अनुरोध गरिन् ।
पाल्पा जिल्लाभरका सघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच डबल ब्याडमिन्टन प्रतियोगिता राखिएको हो । जिल्लाका दुई नगरपालिका, आठ गाउापालिकाका साथै संघीय र प्रदेश कार्यालयका कर्मचारीका बीचमा प्रतियोगिता राखेको युनियनका अध्यक्ष न्यौपानेले बताए । प्रतियोगितामा एउटै कार्यालयमा कार्यरत कर्मचारीको समूहले मात्र सहभागिता जनाएको युनियनका सचिव हरिबहादुर थापाले बताए ।
प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी बज्राचार्य कुंवर र कोष तथा लेखा नियन्त्रक शशीन्द्र खाती तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी र कालीगण्डकी करिडोर आयोजनाकी कल्पना अधिकारीको जोडीको मैत्रीपूर्ण खेलमा प्रमुख जिल्ला अधिकारी बज्राचार्य कुँवरको जोडीले जित हात पारेको थियो ।
