पीएनलाई टीयू कप फुटबलको उपाधि

मंगलबार भएको फाइनलमा छात्रतर्फ पीएनले रत्नराज्यलक्ष्मी (आरआर) लाई १–० गोलले पराजित गर्‍यो ।

भाद्र १८, २०८२

अनुप पौडेल

TU Cup football title to PN

What you should know

कास्की — अन्तर क्याम्पस टीयू कप फुटबल प्रतियोगिताको उपाधि आयोजक पृथ्वीनारायण क्याम्पस (पीएन) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले जितेको छ । क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसरमा पोखरास्थित क्याम्पसकै अन्नपूर्ण रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालय अन्तर क्याम्पस फुटबल प्रतियोगितामा छात्र–छात्रा दुवैतर्फ पीएन विजयी भएको हो । 

मंगलबार भएको फाइनलमा छात्रतर्फ पीएनले रत्नराज्यलक्ष्मी (आरआर) लाई १–० गोलले पराजित गर्‍यो । छात्रातर्फ पृथ्वीनारायण क्याम्पसकै निलो र गुलाबी टिम फाइनल पुगेका थिए । फाइनलमा निलो टिमले गुलाबी टिमलाई १–० गोलले पराजित गर्‍यो । 

छात्रतर्फको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । छात्रातर्फको विजेताले ७१ हजार १ सय ११ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । 

प्रतियोगितामा छात्रतर्फ पीएनका आयुषमान गुरुङ उत्कृष्ट गोलरक्षक, संगीत छन्त्याल उत्कृष्ट डिफेन्डर र अन्जन देवकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए । पीएनकै मनिष थापा मगरले उत्कृष्ट स्ट्राइकरसहित सर्वोत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेको स्ववियु सचिव विराट दुवाडीले बताए । आरआरका मनिष मगरले उत्कृष्ट मिडफिल्डरको उपाधि जिते । 

छात्रातर्फ पीएन निलोकी सरु खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । विजेता टिमका रमला पौडेल उत्कृष्ट गोलरक्षक, राधिका घर्ती क्षेत्री (टीना) उत्कृष्ट मिडफिल्डर, अश्विन गुरुङ उत्कृष्ट प्रशिक्षक बने । उपविजेता पीएन गुलाबी टिमकी खुसी थापा उत्कृष्ट स्ट्राइकर र लक्ष्मी देवकोटा उत्कृष्ट डिफेन्डर घोषित भए । छात्र–छात्रा दुवै विधाका सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए । विधागत उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । छात्रतर्फ ९ र छात्रातर्फ ८ टिम सहभागी भएको प्रतियोगिता संयोजक एवं स्ववियु उपाध्यक्ष विक्रम क्षेत्रीले जानकारी दिए। 

१८ वर्षपछि गत चैतमा पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । क्याम्पसमा छात्रबास निर्माण गर्न स्ववियुकै पहलमा चालु आर्थिक वर्षमा संघ सरकारबाट ३ करोड रुपैयाँ विनियोजन भएको छ । यसबाहेक स्ववियुले हालको छात्रबास वरपर सरसफाइ, नियमित खेलकुद प्रशिक्षण, बगैंचा निर्माणलगायत काम गरिरहेको स्ववियु अध्यक्ष विष्णु पोखरेलले बताए । 

अनुप

Link copied successfully