फेवाताल किनार बाराही घाटमा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ट्रफी अनावरण गरेका हुन् ।
कास्की — पोखरामा शुक्रबारदेखि सुरू हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको ट्रफी अनावरण गरिएको छ ।
फेवाताल किनार बाराही घाटमा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ट्रफी अनावरण गरे ।
अनावरणपछि बोल्दै मेयर आचार्यले पोखरामा भलिबलको विकास र महिला सशक्तिकरणमा लिगले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । खेलले मनोरञ्जनसँगै पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने उनले बताए ।
ट्रफीलाई तालबाराही मन्दिरमा पुर्याएर पूजा पनि गरियो । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौ २८ सम्म चल्नेछ ।
लिगको उद्घाटन खेलमा साबिक विजेता कर्णाली यश्विस र पोखरा निन्जाज खेल्नेछन् । उक्त खेल शुक्रबार दिउँसो २ बजे सुरू हुनेछ । उक्त दिन दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो ४ बजेबाट सुरू हुनेछ ।
लिगमा कर्णाली यश्विस, पोखरा निन्जान, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा सिंगल राउण्ड रोबिन प्रणालीअनुसार १५ खेल हुनेछन् । अंक तालिकाको शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
