पाल्पामा ‘प्रथम युनियन कप’ डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

पाल्पा जिल्लाभरका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच डबल ब्याडमिन्टन प्रतियोगिता राखिएको हो ।

भाद्र १८, २०८२

माधव अर्याल

'First Union Cup' double badminton tournament started in Palpa

What you should know

पाल्पा — पाल्पाको तानसेनस्थित भुसालडाँडा कभर्डहलमा ‘प्रथम युनियन कप’ डबल ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरू भएको छ । नेपाल निजामती कर्मचारी युनियन पाल्पाको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ४६ टिममा ९२ जना खेलाडीको सहभागिता रहेको छ ।

त्यस्तै, प्रतियोगितामा महिलातर्फ ११ टिममा २२ जना खेलाडीले भाग लिएको निजामती कर्मचारी युनियनका अध्यक्ष ओमप्रकाश न्यौपानेले जानकारी दिए ।

पाल्पा जिल्लाभरका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच डबल ब्याडमिन्टन प्रतियोगिता राखिएको हो । पाल्पाका दुई नगरपालिका, आठ गाउँपालिकाका साथै संघीय र प्रदेश कार्यालयका कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता राखेको युनियनका सचिव हरिबहादुर थापाले बताए । प्रतियोगितामा एउटै कार्यालयमा कार्यरत कर्मचारीको समूहले मात्र सहभागिता जनाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समूहले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुने दुई समूहले ५/५ हजार नगद तथा ट्रफी पाउनेछन् । महिलातर्फ पहिलो हुनेले ८ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले दुई–दुई हजार रुपैयाँका साथै ट्रफी पाउने प्रतियोगिता संयोजक जीवन रानाले जानकारी दिए ।

'First Union Cup' double badminton tournament started in Palpaप्रतियोगिताको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले उद्घाटन गर्दै कर्मचारी स्वस्थ भए मात्र सेवाग्राहीको काम छिटोछरितो हुने भएकाले इमान्दार र सेवाग्राहीमैत्री भएर सेवाप्रवाह गर्न आग्रह गरिन् । ‘निजामती सेवामा खेलकुदलाई धेरै प्राथमिकता दिएको पाइदैन,’ उनले भनिन्, ‘खेलकुद र स्वास्थ्यलाई सँगै जोडिने भएकाले स्वस्थ जीवन बनाउन सकिन्छ ।’ कर्मचारी युनियनका जिल्ला अध्यक्ष न्यौपानेले खेलकुदका साथसाथै सेवाप्रवाहलाई पनि प्राथमिकता दिइने बताए ।

तीनवटा कोर्टमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा डिभिजन वन कार्यालयको ‘बी’ समूहलाई पूर्वखोला गाउँपालिकाको ‘ए’ समूहले २–० को सोझो सेटमा पराजित गरेको छ । त्यस्तै, अर्को कारागार कार्यालयको समूहले जिल्ला अदालत ‘बी’ समूहलाई २–० को सोझो सेटमा पराजित गरेको छ । महिलातर्फ कालीगण्डकी करिडोर आयोजना कार्यालयको ‘ए’ समूहले नापी कार्यालयको ‘बी’ समूहलाई २–० को सोझो सेटमा पराजित गरेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully