ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट स्टार्कको संन्यास

स्टार्कले अस्ट्रेलियाबाट ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेले । चार वर्षअघि अस्ट्रेलियाले ट्वान्टी–२० विश्वकप जित्दा स्टार्क त्यो टोलीका महत्वपूर्ण सदस्य थिए ।

भाद्र १७, २०८२

एएफपी

Starc's retirement from Twenty20 internationals

What you should know

सिड्नी — अस्ट्रेलियाका देब्रेहाते तीव्र बलर मिचेल स्टार्कले तत्काल लागु हुने गरि मंगलबार ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । अब टेस्ट र एकदिवसीयमा बढी केन्द्रित हुने स्टार्कले जनाएका छन् ।

‘टेस्ट क्रिकेट मेरो उच्च प्राथमिकता हो र यो सधैँ रहदै आएको छ,’ ३५ वर्षे स्टार्कले एक विज्ञप्तिमा भनेका छन् । भारत र श्रीलंकामा ६ महिनापछि हुने ट्वान्टी–२० विश्वकपअघि उनले यो घोषणा गरेका हुन् ।

‘अस्ट्रेलियाबाट मैले जति पनि ट्वान्टी–२० खेले त्यसमा प्रत्येक मिनेट मोहित भएको थिएँ, २०२१ को विश्वकप झन विशेष थियो,’ उनले भने । स्टार्कले अस्ट्रेलियाबाट ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेले । चार वर्षअघि अस्ट्रेलियाले ट्वान्टी–२० विश्वकप जित्दा स्टार्क त्यो टोलीका महत्वपूर्ण सदस्य थिए ।

सो क्रममा उनले ७९ विकेट लिएका छन् । उनीभन्दा बढी विकेट अस्ट्रेलियाबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एडम जाम्पाको मात्र रहेको छ । अस्ट्रेलियाको आउदो व्यस्त सत्र क्रिकेट अघि स्टार्कले यस्तो निर्णय लिएका हुन् । अस्ट्रेलियाले यसै वर्ष घरेलु मैदानमा एसेस शृंखला खेल्दै छ भने एकदिवसीय विश्वकप क्रिकेट अर्को वर्ष रहेको छ ।

‘भारत भ्रमण, एसेस शृंखला र २०२७ को विश्वकपलाई मध्यनजर गर्ने हो भने फ्रेस, फिट भएर बस्न यो निर्णय आवश्यक थियो,’ स्टार्कले भने, ‘यसले ट्वान्टी–२० विश्वकप अगाडि आउने बलरका लागि तयारी समय पनि दिनेछ ।’ न्युजिल्यान्डविरुद्ध हुने ट्वान्टी–२० शृंखलाका लागि उनलाई यसअघि नै अस्ट्रेलियाको टोलीमा राखिएको थियो ।

स्टार्कले १ सय २ टेस्टमा ४ सय २ विकेट लिएका छन् । जुलाईमा उनले वेस्ट इन्डिजविरुद्धको टेस्टमा अविश्वसनीय बलिङ गरेका थिए, जसका कारण घरेलु टोली वेस्ट इन्डिज किंग्स्टन टेस्टमा केवल २७ रनमा अलआउट भएको थियो । स्टार्कले त्यसमा ९ रन खर्चेर ६ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा यो उनको उत्कृष्ट बलिङ प्रर्दशन हो ।

टेस्टमा उनले २० माथिको औसतमा २ हजार ३ सय २२ रन पनि बनाएका छन् । स्टार्कले १ सय २७ एकदिवसीय अन्तर्राष्ट्रियमा २ सय ४४ विकेट पनि लिएका छन् । 

एएफपी

Link copied successfully